ललितपुर । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्र का अनुसार बुद्ध एयरमै ग्राउण्ड ह्यान्डलिङ स्टाफका रूपमा कार्यरत आफ्नै पत्नीमाथि कुटपिट गरेको आरोपमा कसजुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कसजु विगत पाँच दिनदेखि प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन्। उनीमाथि कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ भने अनुसन्धानका लागि अदालतबाट म्यादसमेत थप गरिएको छ।
एसपी मिश्रका अनुसार थप अनुसन्धानका लागि कसजुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइनेछ।
यसैबीच, बुद्ध एयर स्रोतका अनुसार पाइलट कसजु पछिल्लो १० दिनदेखि नियमित उडान ड्युटीमा अनुपस्थित थिए। एयरलाइन्सले उनको अवस्थाबारे जानकारी लिने क्रममा उनी प्रहरी हिरासतमा रहेको खुलेको बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिक्रिया