काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला गुडिरहेको रेलको पहिलो श्रेणी (१ एसी) को एउटा केबिनलाई हनिमुन सुइटझैँ आकर्षक रूपमा सजाइएको भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियो सार्वजनिक भएसँगै यसको रचनात्मकताको प्रशंसा भइरहेका बेला रेलभित्र यसरी सजावट गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा पनि व्यापक बहस सुरु भएको छ।
भाइरल भिडियोमा १ एसी कोचभित्रको एउटा निजी केबिनलाई रंगीन बेलुन, राता गुलाबका फूल, फूलका पत्र, सजावटी बत्ती र ‘आई लभ यू’ लेखिएको सन्देशमार्फत होटलको हनिमुन सुइटझैँ सजाइएको देखिन्छ। सुत्ने बर्थमा गुलाबका पत्रले मुटुको आकृति बनाइएको छ भने केबिनको सम्पूर्ण भित्री भागलाई विशेष अवसरका लागि तयार पारिएको देखिन्छ।
प्राप्त जानकारीअनुसार एक यात्रुले आफ्ना जीवनसाथीलाई यात्राकै क्रममा विशेष सरप्राइज दिन आफ्नै खर्चमा उक्त सजावट गरेका थिए।
भिडियो भाइरल भएपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय रेल मन्त्रालय र रेलवे प्रशासनलाई ट्याग गर्दै यस्तो सजावट रेलवेको नियमअनुसार वैधानिक हो वा होइन भन्ने प्रश्न उठाएका थिए। विशेषगरी रेलभित्र बत्ती जडान गर्ने, भित्तामा सामग्री टाँस्ने तथा सुरक्षा मापदण्ड उल्लङ्घन हुन सक्ने विषयमा चासो व्यक्त गरिएको थियो।
यस विषयमा भारतीय रेलवे स्रोतले स्पष्ट गर्दै पहिलो श्रेणी (१ एसी) को निजी केबिन पूर्ण रूपमा बुक गरेका यात्रुलाई यात्रा अवधिभर उक्त स्थान आफ्नो सुविधा अनुसार प्रयोग गर्ने अधिकार रहने जनाएको छ।
रेलवेका अनुसार यात्रुले आफ्नै आरक्षित केबिनलाई व्यक्तिगत खुसीका लागि सजाउनु वा आरामदायी बनाउनु नियमविपरीत मानिँदैन, बशर्ते त्यसबाट रेलको संरचना, सुरक्षा वा सञ्चालनमा कुनै असर नपरोस्। यस्तो सजावट यात्रुको व्यक्तिगत पहल भएकाले त्यसमा रेलवेको कुनै प्रत्यक्ष भूमिका नहुने पनि स्पष्ट पारिएको छ।
रेलवे प्रशासनको भनाइअनुसार निजी रूपमा आरक्षित केबिनभित्र गरिएको यस्ता सिर्जनात्मक सजावटले रेलवेको नियम उल्लङ्घन नगरेसम्म कुनै कानुनी समस्या उत्पन्न हुँदैन।
प्रतिक्रिया