बाल मन्दिर जग्गा भाडा ठगी प्रकरण : पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८३, शुक्रबार ०५:३९

काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा भाडामा दिने नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नेपाल बाल संगठन तथा बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग–२०७७ को प्रतिवेदन, प्रहरी प्रतिवेदन तथा प्राप्त जाहेरीका आधारमा ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका क्रममा बुधबार तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ (५४), नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य (६२) तथा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ (५१) रहेका छन्।

सिआईबीका अनुसार उनीहरूमाथि बाल मन्दिरको सम्पत्ति भाडामा दिने प्रक्रियामा अनियमित रूपमा रकम असुल गरी ठगी गरेको आरोप छ। पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा आर्थिक कारोबारका पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply