मन्त्रिपरिषद्का ८ महत्त्वपूर्ण निर्णय सार्वजनिक, गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०८३, बिहीबार ०५:४३

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका आठ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। साथै प्रशासन, शिक्षा, स्वास्थ्य, मानव अधिकार र सुशासनसँग सम्बन्धित विभिन्न नीतिगत निर्णयहरू पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्का प्रमुख निर्णय

मुख्यसचिव नियुक्ति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणमा नियुक्ति
काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय भएको छ।

गेटा अस्पताल सञ्चालन
कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।

विदेशी शैक्षिक कार्यक्रम नियमन
विदेशी शैक्षिक कार्यक्रम सञ्चालनलाई व्यवस्थित बनाउन ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’ स्वीकृत गरिएको छ।

शैक्षिक परामर्शसम्बन्धी नियमावली
शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित गर्न ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरिएको छ।

कारागार नियमावली
कारागार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘कारागार नियमावली, २०८३’ स्वीकृत गरिएको छ।

मानव अधिकार कार्ययोजना
सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ।

भ्रष्टाचारविरुद्ध रणनीतिक कार्ययोजना
सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक कार्ययोजना पनि स्वीकृत गरिएको छ।

सरकारले यी निर्णयले प्रशासनिक सुधार, शिक्षा क्षेत्रको प्रभावकारी नियमन, स्वास्थ्य सेवाको विस्तार, मानव अधिकार संरक्षण तथा सुशासन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply