सभामुख अर्यालको सांसदलाई चेतावनी : ‘जनताको निगरानीमा हुनुहुन्छ, जिम्मेवार बन्नुहोस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०८३, मंगलवार ०५:२२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो हरेक गतिविधिप्रति जिम्मेवार र सचेत रहन आग्रह गर्दै जनताको निरन्तर निगरानीमा रहेको कुरा नबिर्सन निर्देशन दिएका छन्।

संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित दुईदिने ‘सांसद अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदहरूको समयपालन, अनुशासन र संसदीय व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले सांसदहरूको मूल्यांकन अब पार्टी नेतृत्वले मात्र नभई लाखौँ मतदाताले गरिरहेको उल्लेख गर्दै संसद्भित्रको आचरण, कानुन निर्माणमा भूमिका र प्रस्तुतिमा उत्कृष्टता देखाउन स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए।

सभामुख अर्यालले भने, “हामी लाखौँ जनताको मतबाट निर्वाचित प्रतिनिधि हौँ। कार्यक्रममा समयमै उपस्थित हुनेदेखि सदनमा गरिने हरेक गतिविधि जनताको निगरानीमा छ। जनताको मूल्यांकनमा अब्बल ठहरिन राम्रो कानुन निर्माण, सभ्य व्यवहार र प्रभावकारी प्रस्तुति आवश्यक छ।”

कार्यक्रम बिहान १० बजे सुरु भए पनि अपेक्षाअनुसार सांसदहरूको उपस्थिति नदेखिएको भन्दै उनले समयनिष्ठताप्रति पनि असन्तुष्टि जनाए।

तालिम प्रभावकारी बनाउन सांसदहरूलाई मोबाइलको अत्यधिक प्रयोग नगर्न, कार्यक्रमका क्रममा आपसमा अनावश्यक कुराकानी नगर्न र सिकाइलाई व्यवहारमा उतार्न उनले आग्रह गरे।

उनले भने, “समय र राज्यको स्रोत खर्च गरेर यहाँ आएपछि केही सिकेर जानुपर्छ। यो दुई दिनको अभिमुखीकरणको प्रभाव आगामी प्रतिनिधिसभा बैठकमा देखिनुपर्छ, जसको अनुभूति संसद् सचिवालय, म स्वयं र सबैभन्दा बढी तपाईंहरूका मतदाताले गर्न सकून्।”

सभामुख अर्यालले नयाँ सांसदहरू कानुनबारे जानकार भए पनि संघीय संसद्को कार्यप्रणाली र संसदीय प्रक्रियामा दक्षता बढाउन यस्तो अभिमुखीकरण आवश्यक रहेको उल्लेख गरे।

उनको भनाइले सांसदहरूलाई संसदीय मर्यादा, अनुशासन, उत्तरदायित्व र जनअपेक्षाअनुसार भूमिका निर्वाह गर्न स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor