काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो चरणका सबै खेल सम्पन्न भएसँगै अब टोलीहरूको ध्यान तेस्रो तथा अन्तिम समूह चरणका निर्णायक खेलमा केन्द्रित भएको छ। अन्तिम चरणका खेलले नकआउट चरणमा पुग्ने टोलीहरूको टुंगो लगाउने भएकाले प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
जुन २४ मा समूह ‘के’ र ‘एल’ का खेल सम्पन्न भएपछि बाँकी समूहका टोलीहरू अन्तिम खेलका लागि तयारीमा जुटेका छन्। हरेक समूहका खेलहरू निष्पक्षता कायम गर्न एकै समयमा सञ्चालन गरिनेछन्।
समूह ‘बी’ अन्तर्गत बोस्निया एन्ड हर्जगोभिना र कतार तथा स्विट्जरल्याण्ड र क्यानडा बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बिहीबार राति १२ः४५ बजे सुरु हुनेछन्।
समूह ‘सी’ मा मोरक्को र हैटी तथा स्कटल्याण्ड र ब्राजिल आमनेसामने हुनेछन्। यी खेलहरू नेपाली समयअनुसार बिहीबार बिहान ३ः४५ बजे सुरु हुनेछन्।
समूह ‘ए’ अन्तर्गत दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक गणतन्त्र र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ। यी खेलहरू बिहीबार बिहान ६ः४५ बजे सुरु हुने तालिका रहेको छ।
समूह चरणको अन्तिम खेल भएकाले अधिकांश टोलीका लागि यो ‘गर या मर’ को अवस्था हुनेछ। केही टोली नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछन् भने केही टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न जितको खोजीमा रहनेछन्।
फुटबल समर्थकहरूको ध्यान अहिले यी निर्णायक खेलतर्फ केन्द्रित भएको छ, जहाँ प्रत्येक गोल र प्रत्येक अंकले विश्वकप यात्राको दिशा तय गर्नेछ।
प्रतिक्रिया