धनकुटा । तिहार भन्नेबित्तिकै देउसी–भैलो, गीतसङ्गीत र मादलको ताल सम्झिन्छ। तर, आधुनिक मनोरञ्जनका माध्यम बढ्दै जाँदा तिहारको रौनकसँग जोडिएको मादलको प्रयोग र माग घट्दै गएको छ। यसको असर मादल बनाउने परम्परागत सीप भएका व्यवसायीमा परेको छ।
धनकुटा नगरपालिका–१ गैरी टोलका छविलाल सार्की विगतमा तिहार आउनुअघि मादल बनाउन व्यस्त हुन्थे। तर, यस वर्ष केही पुराना मादलमा खरी लगाउनेबाहेक नयाँ मादल बनाउने काम पाएका छैनन्। पहिले तिहार, मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा मादलको माग धेरै हुने गरे पनि अहिले घटेको उनको अनुभव छ।
एउटा मादल बनाउन काठ छनोट, ढुङ्ग्रो निर्माण, छाला तन्काउने र खरी लगाउनेलगायत काम गर्नुपर्छ। आकारअनुसार मादल तयार गर्न तीनदेखि सात दिन लाग्ने र मूल्य पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने गरेको छ। आवश्यक कच्चा पदार्थ जुटाउनसमेत कठिन हुने व्यवसायीको भनाइ छ।
मोबाइल, इन्टरनेट, विद्युतीय बाजा र रेकर्ड गरिएका गीतसङ्गीतको प्रयोग बढेसँगै मादलको प्रयोग सीमित हुँदै गएको छ। नयाँ पुस्ताको आकर्षण आधुनिक सङ्गीततर्फ बढ्दा मादल बजाउने र बनाउने सीप सिक्नेको सङ्ख्यासमेत घट्न थालेको छ।
गीतकार रमेशचन्द्र अधिकारीका अनुसार मादल नेपाली लोकसंस्कृति र मौलिक पहिचानको महत्वपूर्ण हिस्सा हो। यसको प्रयोग र सीप पुस्तान्तरण हुन नसके भविष्यमा दक्ष मादल निर्माता पाउनसमेत कठिन हुने उनको चिन्ता छ।
आधुनिक प्रविधिसँगै अघि बढ्दा पनि मौलिक बाजा र परम्परागत सीपको संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।
प्रतिक्रिया