दक्षिण कोरियाको मार्सल ल प्रकरण : पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई थप तीन वर्ष जेल सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०८३, बिहीबार ०५:०२

सोल । दक्षिण कोरियाको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित अर्को महत्वपूर्ण फैसलामा पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतले गोप्य सैन्य जानकारी अनधिकृत रूपमा सार्वजनिक गरेको अभियोगमा उनलाई दोषी ठहर गर्दै उक्त फैसला गरेको हो।

अदालतका अनुसार किमले पूर्वराष्ट्रपति युन सुक योलले उठाउँदै आएको चुनावी धाँधलीसम्बन्धी दाबीको अनुसन्धान गर्न प्रस्तावित विशेष टोलीसँग सम्बन्धित संवेदनशील सैन्य सूचना एक सर्वसाधारण व्यक्तिलाई उपलब्ध गराएका थिए। अभियोजन पक्षले यसलाई राष्ट्रिय सुरक्षा नियमको गम्भीर उल्लंघनका रूपमा व्याख्या गरेको थियो।

सुनुवाइका क्रममा अदालतले किमको गतिविधिले कानुनी आधार कमजोर रहेको अवस्थामा पनि मार्सल ल घोषणा गर्ने वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ। न्यायाधीशहरूको इजलासले उक्त कार्यलाई मार्सल ल कार्यान्वयनतर्फ देशलाई धकेल्ने प्रमुख कारकमध्ये एक मानेको छ। यसअघि सरकारी वकिलहरूले किमलाई पाँच वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए।

सन् २०२४ को डिसेम्बरमा तत्कालीन राष्ट्रपति युन सुक योलले चुनावमा धाँधली भएको दाबी गर्दै देशमा मार्सल ल घोषणा गरेका थिए। तर राष्ट्रिय सभाका सांसदहरूले आपत्कालीन बैठक बोलाएर मतदानमार्फत उक्त निर्णयलाई करिब छ घण्टामै निष्क्रिय बनाएका थिए। त्यस घटनाले दक्षिण कोरियामा गम्भीर राजनीतिक संकट सिर्जना गरेको थियो।

मार्सल ल घोषणापछि देशभर व्यापक विरोध प्रदर्शन भएको थियो भने वित्तीय बजारमा समेत नकारात्मक प्रभाव परेको थियो। दक्षिण कोरियाका प्रमुख अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूले समेत घटनाप्रति चिन्ता व्यक्त गरेका थिए।

उक्त घटनापछि पूर्वराष्ट्रपति युन सुक योलमाथि विद्रोहको नेतृत्व गरेको आरोप लाग्यो। अदालतबाट दोषी ठहर भइसकेका युन हाल आजीवन कारावासको सजायविरुद्ध अपिल प्रक्रियामा रहेका छन्।

किम योङ–ह्युनमाथि यसअघि पनि मार्सल ल प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा ३० वर्षको जेल सजाय सुनाइएको थियो। पछिल्लो तीन वर्षको सजाय उनीविरुद्धको छुट्टै कानुनी कारबाहीअन्तर्गत आएको हो।

दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा सबैभन्दा विवादास्पद मानिएको मार्सल ल प्रकरणसँग सम्बन्धित विभिन्न मुद्दा अझै अदालतमा विचाराधीन छन्। पछिल्ला फैसलाले घटनामा संलग्न उच्च राजनीतिक तथा सुरक्षा अधिकारीहरूमाथि न्यायिक निगरानी थप कडा बन्दै गएको संकेत गरेका छन्।

प्रतिक्रिया

slot gacor