भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
चितवनको भरतपुरमा जारी महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
रास्वपाको स्थापना भएयता पार्टीको नेतृत्व गर्दै आएका लामिछानेले पहिलो महाधिवेशनमार्फत औपचारिक रूपमा पुनः नेतृत्वको जिम्मेवारी प्राप्त गरेका हुन्। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेकाले निर्वाचन प्रक्रिया आवश्यक नपरी उनी निर्विरोध चयन भएका हुन्।
निर्वाचन आयोगका अनुसार हाल केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। उम्मेदवारी दर्ताको समय राति १२ बजेसम्म तोकिएको छ भने मंगलबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।
महाधिवेशनमा करिब ४ हजार ५०० भन्दा बढी प्रतिनिधि मतदाता रहेका छन्। प्रतिनिधिहरूको ठूलो सङ्ख्या रहेकाले मतदान प्रक्रिया सम्पन्न गर्न करिब आठ घण्टा लाग्ने अनुमान गरिएको छ।
रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा पार्टीको भावी कार्ययोजनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएसँगै अब महाधिवेशनको मुख्य ध्यान केन्द्रीय समिति र अन्य नेतृत्व तहको चयनतर्फ केन्द्रित भएको छ।
प्रतिक्रिया