झुटो यौन दुर्व्यवहार आरोप स्वीकारेपछि विवादमा शिल्पा शिन्दे, पक्राउको माग
rastriyakhabar
९ असार २०८३, मंगलवार १७:३४
काठमाडौँ । भारतीय टेलिभिजन अभिनेत्री तथा ‘बिग बोस ११’ की विजेता शिल्पा शिन्दे आफ्नो पछिल्लो अभिव्यक्तिका कारण गम्भीर विवादमा तानिएकी छन्। एक पोडकास्ट अन्तर्वार्तामा उनले चर्चित टेलिभिजन शो ‘भाभी जी घर पर हैं’ का निर्माता सञ्जय कोहलीविरुद्ध आफूले आर्थिक दबाब सिर्जना गर्न यौन दुर्व्यवहारको उजुरी दिएको स्वीकार गरेपछि विवाद चुलिएको हो।
हास्य कलाकार भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा शिन्देले गरेको उक्त खुलासापछि सामाजिक सञ्जालदेखि भारतीय मनोरञ्जन क्षेत्रसम्म व्यापक बहस सुरु भएको छ। विशेषगरी पुरुष अधिकारका पक्षमा काम गर्ने संस्थाहरूले उनको अभिव्यक्तिलाई गम्भीर अपराधको स्वीकारोक्ति भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
पुरुष हितका लागि काम गर्ने संस्था एनसीएम इन्डिया काउन्सिल फर मेन्स अफेयर्स ले मुम्बई प्रहरीसमक्ष शिल्पा शिन्देमाथि तत्काल कानुनी कारबाही गरी पक्राउ गर्न माग गरेको छ। संस्थाले झुटो आरोप लगाएर कसैको प्रतिष्ठा र करियरमाथि प्रहार गर्नु गम्भीर विषय भएको जनाएको छ।
यता, अभिनेत्री हिना खान ले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महिला हुनुको विशेष कानुनी संरक्षणलाई गलत रूपमा प्रयोग गरेर कसैको चरित्र हत्या गर्नु अत्यन्त निन्दनीय कार्य भएको बताएकी छन्। उनले यस्ता घटनाले वास्तविक पीडित महिलाहरूले न्याय पाउने प्रक्रियामै असर पुग्ने चिन्ता व्यक्त गरेकी छन्।
अर्की अभिनेत्री पूजा बेदी ले पनि पीडित संरक्षणका लागि बनेका कानुनको दुरुपयोग गर्नेमाथि कडा कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरेकी छन्। उनका अनुसार व्यक्तिगत रिस, बदलाको भावना वा आर्थिक स्वार्थका लागि यस्ता कानुनको प्रयोग हुँदा वास्तविक पीडितहरूको आवाज कमजोर बन्ने खतरा हुन्छ।
विवाद बढ्दै गएपछि शिल्पा शिन्देले भिडियो सन्देशमार्फत आफ्नो बचाउ गरेकी छन्। उनले आफू तत्कालीन समयमा गम्भीर मानसिक तनावबाट गुज्रिरहेको र परिस्थितिका कारण त्यस्तो निर्णय लिन पुगेको दाबी गरेकी छन्। विगत एक दशकदेखि आफूले भोगेको पीडा बाहिर ल्याउने प्रयासस्वरूप उक्त विषय उठाएको उनको भनाइ छ।
सन् २०१५ मा ‘भाभी जी घर पर हैं’ मार्फत ‘अंगूरी भाभी’ को भूमिकाबाट लोकप्रिय बनेकी शिल्पाले सन् २०१६ मा निर्माता सञ्जय कोहलीमाथि गम्भीर आरोप लगाउँदै शो छोडेकी थिइन्। अहिले करिब नौ वर्षपछि उनी पुनः सोही शोमा फर्किएकी छन्। तर, पोडकास्टमा दिएको अभिव्यक्तिले उनको पुनरागमनभन्दा बढी नयाँ विवादलाई जन्म दिएको छ।
यो घटनाले झुटा आरोप, कानुनी दुरुपयोग र वास्तविक पीडितहरूको न्यायसँग सम्बन्धित विषयमा फेरि एकपटक गम्भीर बहस सुरु गराएको छ।
प्रतिक्रिया