काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ। सोमबारदेखि सुरु भएको समयसीमा आगामी शुक्रबारसम्म रहनेछ।
हाल उक्त होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना आश्रित छन्। समितिले स्व-व्यवस्थापनलाई प्रोत्साहन गर्न प्रतिपरिवार २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार सहयोग प्राप्त गर्न इच्छुक परिवारले बैंक खाता विवरणसहित निवेदन पेश गर्नुपर्नेछ। निवेदन प्राप्त भएपछि सम्बन्धित परिवारको खातामा रकम जम्मा गरिने व्यवस्था गरिएको छ।
सरकारले भविष्यमा वास्तविक सुकुम्बासीको रूपमा प्रमाणित हुने परिवारलाई मासिक १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था समेत गरेको जनाएको छ।
बागमती सभ्यता क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने अभियानअन्तर्गत २०८३ वैशाखयता २ हजार ६०८ जनाले नाम दर्ता गराएका छन्। तीमध्ये धेरैलाई विभिन्न होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको थियो।
सरकारले अब ती अस्थायी सेन्टरहरू क्रमशः खाली गराउँदै प्रभावित नागरिकलाई स्व-व्यवस्थापनतर्फ लैजाने नीति लिएको छ। कीर्तिपुर होल्डिङ सेन्टरबाट सुरु भएको यो प्रक्रिया आगामी दिनमा अन्य सेन्टरमा पनि लागू गरिने जनाइएको छ।
समितिले तोकिएको समयभित्र सेन्टर खाली नगर्ने परिवारहरूको व्यवस्थापनबारे आवश्यक निर्णय सरकारले पछि गर्ने जनाएको छ।
प्रतिक्रिया