रास्वपा महाधिवेशन अव्यवस्थित, प्रतिनिधि टुंगो नलाग्दा कार्यतालिका बिथोलियो
rastriyakhabar
९ असार २०८३, मंगलवार ०६:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिनको प्रमुख कार्यक्रम नै प्रभावित भएको छ। सोमबार बिहान ८ः३० बजे सुरु हुने तय भएको बन्दसत्र प्रतिनिधि प्रमाणीकरण तथा परिचयपत्र वितरण कार्य नसकिँदा स्थगित भएपछि महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित बनेको हो।
देशभरबाट आएका हजारौं महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि भरतपुरस्थित प्रदर्शनी केन्द्रमा उपस्थित भए पनि दिनभर प्रतीक्षामै बस्न बाध्य भए। चर्को गर्मीका बीच प्रतिनिधिहरूले नाचगान र अनौपचारिक छलफलमार्फत समय बिताए पनि अन्ततः साँझ ६ बजे बन्दसत्र स्थगित भएको औपचारिक घोषणा गरिएपछि उनीहरूमा असन्तुष्टि देखिएको थियो।
केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिले संयुक्त सूचना जारी गर्दै प्रदेश तथा जिल्लाबाट प्राप्त प्रतिनिधिहरूको नामावली प्रमाणीकरण, रुजु तथा परिचयपत्र छपाइ कार्य अपेक्षाभन्दा धेरै समय लागेकाले बन्दसत्र तत्काल सञ्चालन गर्न नसकिएको जनाएको छ। आयोगका अनुसार सोमबार साँझदेखि प्रतिनिधि कार्ड वितरण सुरु गरिएको र बाँकी कार्ड मंगलबार बिहान उपलब्ध गराइनेछ।
महाधिवेशनको प्रारम्भिक कार्यतालिका अनुसार सोमबार सभापतिको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, वित्तीय प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय गरिएको थियो। तर प्रतिनिधि व्यवस्थापनकै समस्या समाधान हुन नसक्दा ती सबै कार्यक्रम प्रभावित भएका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले पहिलो महाधिवेशन भएकाले धेरै व्यवस्थापकीय चुनौतीहरू देखिएको स्वीकार गर्दै कुनै पनि प्रतिनिधि छुट्न नदिन पार्टीले समयभन्दा समावेशितालाई प्राथमिकता दिएको बताए। उनका अनुसार प्रारम्भिक सूची सार्वजनिक भएपछि मधेश प्रदेशबाट प्रतिनिधित्व कम भएको गुनासो आएपछि थप ८३ प्रतिनिधि समावेश गर्ने निर्णय गरिएको थियो। सोही कारण प्रमाणीकरण प्रक्रिया लम्बिएको हो।
त्यसैगरी अनुशासन आयोगको कारबाहीमा परेका १६ जनालाई समेत महाधिवेशन अवधिसम्म प्रतिनिधिको अधिकार दिने निर्णय भएपछि प्रतिनिधिको संख्या थप बढेको छ। अहिले प्रतिनिधिको संख्या करिब ४,३०० देखि ४,४०० पुगेको पार्टीले जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार जिल्ला र प्रदेश अधिवेशनहरू ढिलो सम्पन्न भएका कारण त्यसको प्रत्यक्ष असर प्रतिनिधि प्रमाणीकरण प्रक्रियामा परेको हो। टाढाबाट आएका कुनै पनि प्रतिनिधि छुट्न नदिन सबैलाई समेट्ने प्रयास गर्दा कार्यक्रम केही पछि धकेलिएको उनले बताए।
महाधिवेशनको कार्यतालिका प्रभावित भएसँगै सुरुमा मंगलबार सम्पन्न हुने भनिएको अधिवेशन अब बुधबारसम्म लम्बिएको छ। यसले प्रतिनिधिहरूको बसाइ अवधि पनि थपिएको छ।
यद्यपि नेतृत्व चयनको बहस भने अझ तीव्र बनेको छ। सभापति पदमा रवि लामिछाने र वरिष्ठ नेता पदमा बालेन्द्र शाह सर्वसम्मत चयन हुने लगभग निश्चित देखिए पनि अन्य पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता तथा सहप्रवक्ता पदका लागि विभिन्न नेताहरूले दाबी प्रस्तुत गरिरहेका छन्। विशेषगरी महामन्त्री र उपसभापति पदमा आकांक्षीहरूको संख्या धेरै भएकाले शीर्ष नेतृत्व सहमतिको प्रयासमा जुटेको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापति तथा केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया मंगलबारबाट सुरु हुनेछ। महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ, जसमा ९९ जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनित हुने व्यवस्था छ।
प्रतिनिधि व्यवस्थापनमै देखिएको कमजोरीले रास्वपाको पहिलो महाधिवेशनको संगठनात्मक तयारीमाथि प्रश्न उठाएको छ। यद्यपि पार्टी नेतृत्वले यसलाई प्रारम्भिक व्यवस्थापकीय चुनौतीको रूपमा व्याख्या गर्दै मंगलबारदेखि महाधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउने दाबी गरेको छ।
प्रतिक्रिया