काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको आरोपमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको नेतृत्वमा खटिएको विशेष टोलीले साँझ उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई नेपालगञ्ज लगिएको र त्यहाँबाट थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको जनाइएको छ।
यस घटनाले राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न गरेको छ। विपक्षी दल एमालेले आफ्ना वरिष्ठ नेताको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै विष्णु पौडेलको पक्राउलाई लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कारविपरीत कदम भएको टिप्पणी गरेका छन्। उनले सरकार विपक्षी दलका नेतामाथि प्रतिशोधपूर्ण ढंगले प्रस्तुत भएको आरोप लगाउँदै घटनाको घोर निन्दा र भर्त्सना गरेका छन्।
एमालेका अनुसार कुनै पनि विषयमा आवश्यक परे कानुनी प्रक्रिया अनुसार सोधपुछ वा अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै सार्वजनिक कार्यक्रममै पक्राउ गर्नु राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम हो। पार्टीले यसलाई ‘अधिनायकवादी प्रवृत्ति’ को संकेतका रूपमा व्याख्या गरेको छ।
यसैबीच, स्रोतका अनुसार पक्राउअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले पौडेलसँग सम्बन्धित केही कागजातहरू संकलन गरेको जनाएको छ। यद्यपि, अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
घटनापछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ। सरकारले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणविरुद्धको अभियानलाई तीव्र बनाइरहेको दाबी गरिरहेको बेला प्रमुख विपक्षी दलले भने यसलाई राजनीतिक प्रतिशोधको श्रृंखलाका रूपमा चित्रण गरेको छ।
पौडेलमाथिको अनुसन्धान र यस प्रकरणको आगामी कानुनी प्रक्रियाले राष्ट्रिय राजनीतिमा थप चासो र बहस सिर्जना गर्ने देखिएको छ।
प्रतिक्रिया