चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले नेपाली राजनीतिमा नयाँ बहस, नयाँ सन्देश र नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएको छ। भरतपुरमा सुरु भएको महाधिवेशनमा देश–विदेशबाट आएका हजारौं प्रतिनिधिको सहभागिताले रास्वपाको संगठनात्मक विस्तार र राजनीतिक प्रभावलाई उजागर गरेको छ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना दिँदै रास्वपाप्रति आशा, सुझाव र खबरदारी मिश्रित धारणा राखे। नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले आफ्नै दलका विगतका कमजोरी स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई नेतृत्वलाई प्रश्न गर्न नछाड्न आग्रह गरे। उनले नेता ‘भगवान्’ बनाउने संस्कार लोकतन्त्रका लागि घातक हुने बताए।
नेकपा नेता वर्षमान पुन ले सुशासन र समाज रूपान्तरणको एजेन्डामा रास्वपा नजिक रहेको उल्लेख गर्दै संविधान र विधिको सीमाभित्र रहेर काम गर्न सुझाव दिए। उनले बहुमत सधैं स्थायी नहुने भन्दै विनम्रता र धैर्य आवश्यक रहेको धारणा राखे।
सबैभन्दा बढी चर्चा प्रधानमन्त्री बालेन्द्र शाह को सम्बोधनले बटुल्यो। उनले आफ्नो सरकारलाई ‘एक्सप्रेस वेमा कुदिरहेको गाडी’सँग तुलना गर्दै सरकारले तय गरेको गन्तव्य पूरा नभएसम्म नरोकिने बताए। जनताको समर्थनलाई ‘हावा’ नभई ‘बाढीले खोला फर्काएको परिवर्तन’ को संज्ञा दिँदै उनले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने स्पष्ट पारे।
रास्वपा सभापति रवि लामिछाने ले भने रास्वपा आम नागरिकको निराशा र बाध्यताबाट जन्मिएको राजनीतिक शक्ति भएको बताए। टेलिभिजनदेखि जेलको कालकोठरीसम्मबाट आवाज उठाउँदा नसुनिएपछि नयाँ राजनीतिक विकल्पको रूपमा रास्वपा स्थापित भएको उनको भनाइ थियो।
लामिछानेले पुराना आन्दोलन, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार र समावेशिताका उपलब्धिप्रति पूर्ण प्रतिबद्धता जनाउँदै रास्वपा कुनै पनि हालतमा लोकतान्त्रिक मूल्य–मान्यताभन्दा बाहिर नजाने स्पष्ट पारे। साथै, गुटबन्दी र आन्तरिक विभाजनबाट जोगिन पार्टी कार्यकर्तालाई सचेत गराउँदै “रास्वपा आफ्नै कमजोरीले मात्र हार्न सक्छ, अरू कसैले हराउन सक्दैन” भन्ने सन्देश दिए।
महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्ने मात्र होइन, पुराना राजनीतिक शक्तिहरू र नयाँ राजनीतिक पुस्ताबीचको वैचारिक बहसलाई पनि थप तीव्र बनाएको छ। रास्वपाले आफूलाई परिवर्तन, सुशासन र परिणाममुखी राजनीतिका वाहकका रूपमा प्रस्तुत गरेको छ भने पुराना दलहरूले अनुभव, इतिहास र लोकतान्त्रिक संस्थागत मूल्यहरूको महत्व सम्झाएका छन्।
चितवन महाधिवेशनले एउटा कुरा स्पष्ट गरेको छ— नेपाली राजनीतिमा अब पुराना र नयाँ शक्तिबीच प्रतिस्पर्धा मात्र होइन, विचार, शैली र राजनीतिक संस्कारको नयाँ बहस पनि सुरु भएको छ।
प्रतिक्रिया