काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाएर ‘पार–हिमाली समृद्धि’को नयाँ अध्याय संयुक्त रूपमा निर्माण गर्न आह्वान गरेका छन्।
मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक सम्भावना, भौगोलिक अवस्थिति र युवा जनशक्तिलाई लगानीका लागि आकर्षक आधारका रूपमा प्रस्तुत गरेका थिए। उनले लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई थप सहज र सुरक्षित बनाउने दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा चीनका व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल लगानी बोर्डका प्रतिनिधिहरूले ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रका सम्भावनाबारे प्रस्तुतीकरण गरेका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग समेत भेटवार्ता गरेका छन्। भेटमा नेपाल–चीनबीचको परम्परागत मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने तथा आपसी हितका विविध क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाइएको छ।
त्यसैगरी उनले बेइजिङस्थित ऐतिहासिक श्वेत स्तूपको अवलोकन गरेका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन सांस्कृतिक सम्बन्धको महत्वपूर्ण प्रतीक मानिन्छ। मन्त्री खनालले श्वेत स्तूप नेपाली कला, वास्तुकला र सिर्जनशीलताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा रहेको उल्लेख गरेका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सहकार्यबारे धारणा राखेका थिए।
चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका मन्त्री खनाल बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य र लगानी प्रवर्द्धनका दृष्टिले उनको भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया