राहदानी छपाइ भ्रष्टाचार प्रकरण : महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन हिरासतमा राख्न अनुमति
rastriyakhabar
३ असार २०८३, बुधबार ०४:४९
काठमाडौँ । राहदानी छपाइमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई थप अनुसन्धानका लागि विशेष अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारबाट लागू हुने गरी उक्त म्याद थप गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि २० दिनको म्याद माग गरेको भए पनि अदालतले प्रारम्भिक चरणमा ४ दिनको मात्र म्याद दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन्।
राहदानी छपाइसँग सम्बन्धित कार्यमा अनियमितता तथा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा अख्तियारले दुवै उच्च अधिकारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। अदालतबाट प्राप्त म्याद अवधिमा अख्तियारले आवश्यक कागजात, निर्णय प्रक्रिया र आर्थिक कारोबारका पक्षबारे थप अनुसन्धान गर्नेछ।
सरकारी निकायभित्र हुने सार्वजनिक खरिद तथा सेवा प्रवाहसँग सम्बन्धित भ्रष्टाचारका घटनाप्रति निगरानी बढिरहेका बेला राहदानी विभागका उच्च अधिकारीहरू नै अनुसन्धानको दायरामा आउनु चर्चाको विषय बनेको छ। यस प्रकरणको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ।
प्रतिक्रिया