चीनमा परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ नेताबीच भेटवार्ता
rastriyakhabar
२ असार २०८३, मंगलवार ०५:२२
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच बेइजिङमा भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार सोमबार सम्पन्न भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, राजनीतिक तथा जनस्तरको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा सार्थक संवाद भएको उल्लेख गर्दै भ्रमण फलदायी रहेको बताएका छन्।
भेटवार्ताका क्रममा रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दुवै देशका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।
परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन तथा क्षेत्रीय सहकार्यका विषयमा विभिन्न चरणका भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षासहित भइरहेको मन्त्री खनालको भ्रमणलाई दुवै देशबीचको सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया