काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। बागमती प्रदेश अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी डा. अचुतम लामिछानेलाई अत्यन्तै झिनो मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार उत्सव अर्यालले ४१८ मत प्राप्त गरेका छन् भने डा. अचुतम लामिछानेले ४१६ मत प्राप्त गरेका छन्। अर्यालले मात्र दुई मतको अन्तरले सभापतिमा विजय हासिल गरेका हुन्।
बागमती प्रदेश अधिवेशनमा सहभागी रास्वपाका केन्द्रीय सदस्य मधुसुधन ढकालका अनुसार निर्वाचन प्रतिस्पर्धात्मक र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।
झिनो मतान्तरमा भएको यस निर्वाचनलाई रास्वपाभित्रको आन्तरिक लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ। नवनिर्वाचित सभापति अर्यालले पार्टी संगठनलाई प्रदेशभर थप सुदृढ बनाउँदै जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बागमती प्रदेश रास्वपाको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया