बेरुत । इजरायली सेनाले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान चेतावनी जारी गरेको केही समयपछि लेबनानका विभिन्न २० स्थानमा व्यापक हवाई आक्रमण गरेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकु विमानहरूले नबातियाह सहर, रिहान तथा सुजुड गाउँसहित चेतावनी दिइएका क्षेत्रहरूमा शृङ्खलाबद्ध बमबारी गरेका हुन्।
इजरायली सेनाले यसअघि नै जहरानी नदीको दक्षिणी क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गर्दै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। सेनाले जारी गरेको सूचनामा नागरिकहरूलाई तत्काल घर छाडेर नदीको उत्तरतर्फ जान अनुरोध गरिएको थियो। चेतावनीपछि शुक्रबार राति अली ताहेर पहाड आसपासका क्षेत्रमा भीषण विस्फोट र गोलाबारी भएको बताइएको छ।
दक्षिण लेबनानमा सैन्य कारबाहीलाई तीव्र बनाएको इजरायली सेनाविरुद्ध आफूहरूले पनि कडा प्रतिरोध गरिरहेको हेजबुल्लाहले जनाएको छ। हेजबुल्लाहका लडाकुहरूले मजदल जोन क्षेत्रतर्फ अघि बढिरहेका इजरायली सैनिकसँग भिडन्त जारी रहेको दाबी गरेका छन्।
पछिल्ला महिनाहरूमा इजरायल र हेजबुल्लाहबीचको द्वन्द्व झन् चर्किंदै गएको छ। इरान समर्थित हेजबुल्लाहले इजरायलतर्फ रकेट आक्रमण गरेपछि सैन्य तनाव थप बढेको हो। जारी युद्धमा लेबनानतर्फ हालसम्म तीन हजार सात सयभन्दा बढी मानिसको ज्यान गइसकेको विभिन्न स्रोतहरूले जनाएका छन्।
यसअघि घोषणा गरिएको युद्धविराम र कूटनीतिक प्रयासहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा क्षेत्रीय तनाव अझ बढेको छ। वासिङ्टनमा सम्पन्न लेबनानी–इजरायली प्रत्यक्ष वार्ताको चौथो चरणपछि घोषणा गरिएको सशर्त युद्धविराम पनि कार्यान्वयनमा आउन सकेको छैन।
हेजबुल्लाहले इजरायली सेना लेबनानबाट पूर्ण रूपमा फिर्ता नभएसम्म र आक्रमण नरोकेसम्म कुनै सम्झौता स्वीकार नगर्ने अडान लिएको छ। यसैबीच अमेरिकी अधिकारीहरूले मध्यपूर्वमा स्थायी शान्ति कायम गर्न लेबनानलाई सम्भावित सम्झौता प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
उता, लेबनानका राष्ट्रपति जोसेफ आउनले देशले हाल अत्यन्त कठिन र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको बताएका छन्। उनले राष्ट्रिय एकता कायम राख्दै संकट समाधानका लागि सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेका छन्।
मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण मानवीय संकट गहिरिँदै गएको छ भने अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र संवादमार्फत समाधान खोज्न दुवै पक्षलाई आग्रह गरिरहेको छ।
प्रतिक्रिया