४२ करोडभन्दा बढीको बैंकिङ कसुरमा चर्चित व्यवसायीविरुद्ध मुद्दा दायर
rastriyakhabar
२९ जेष्ठ २०८३, शुक्रबार ०५:२२
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो को संयुक्त अनुसन्धानपछि केही चर्चित व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको छ।
उच्च अदालत पाटन को वाणिज्य इजलासमा बिहीबार दर्ता गरिएको मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाल लाई प्रतिवादी बनाइएको छ। यसै प्रकरणमा शेखर गोल्छा समेत अनुसन्धानको दायरामा रहेको जनाइएको छ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले बैंक तथा वित्तीय संस्थाबाट निश्चित प्रयोजनका लागि लिएको कर्जा सोही उद्देश्यमा प्रयोग नगरी अन्यत्र खर्च गरेको आरोप लगाइएको छ। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।
मुद्दामा दीपक भट्ट, सुलभ अग्रवाल र शाहिल अग्रवाललाई मुख्य कसुरदारका रूपमा उल्लेख गरिएको छ भने शंकरलाल अग्रवालमाथि मुख्य कसुरदारलाई सहयोग पुर्याएको अर्थात् मतियार बनेको आरोप लगाइएको छ।
हाल दीपक भट्ट र सुलभ अग्रवाल प्रहरी हिरासतमा रहेका छन्। शाहिल अग्रवाल र शंकरलाल अग्रवाल भने फरार रहेको जनाइएको छ। फरार प्रतिवादीहरूको हकमा अदालतबाट पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार १० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म बिगो कायम भएको मुद्दामा दोषी ठहर भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद, बिगो असुलउपर तथा बिगो बराबरको जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।
यस बैंकिङ कसुरबाहेक प्रतिवादीहरूमाथि बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण तथा धितोपत्र (सेयर बजार) सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती विषयमा पनि अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको बताइएको छ। त्यसैले निकट भविष्यमै प्रतिवादीहरूमाथि थप वित्तीय अपराधसम्बन्धी मुद्दाहरू समेत दायर हुन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ।
यो प्रकरणलाई पछिल्लो समयको सबैभन्दा चर्चित बैंकिङ तथा वित्तीय अनियमिततासम्बन्धी अनुसन्धानमध्ये एकका रूपमा हेरिएको छ।
प्रतिक्रिया