काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै बहुचर्चित वि.सं. २०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्। गृह मन्त्रालयमा पदभार सम्हाल्दै उनले विगतका महत्त्वपूर्ण तथा चर्चित घटनाहरूको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
पदभार ग्रहणकै क्रममा मन्त्री गुरुङले दरबार हत्याकाण्डसँगै पछिल्लो समय चर्चामा रहेको जेनजी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरूको पुनरावलोकन गरी फिर्ता लिने सम्भावनाबारे अध्ययन सुरु गर्ने निर्णय समेत गरेका छन्। यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाइने गृह मन्त्रालयले जनाएको छ।
त्यसैगरी, उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने र हाल अनुसन्धानको क्रममा रहेका पुराना तथा संवेदनशील मुद्दाहरूलाई यथाशीघ्र टुंगोमा पुर्याउन निर्देशन दिएका छन्। लामो समयदेखि अल्झिएका अनुसन्धानलाई निष्कर्षमा पुर्याउन मन्त्रालयले विशेष प्राथमिकता दिने उनको भनाइ छ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले आफूमाथि विगतदेखि विभिन्न तथ्यहीन आरोपहरू लगाइएको उल्लेख गर्दै सञ्चारमाध्यमहरूलाई जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरे। उनले ‘मिडिया ट्रायल’ का कारण कुनै पनि व्यक्तिले मानसिक तनाव, सामाजिक अपमान वा आत्महत्यासम्मको अवस्था भोग्न नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताए।
“ममाथि जेनजी आन्दोलनदेखि नै अनेक आरोप लगाइयो, म त थेग्न सकुँला। तर कुनै नागरिकलाई अपमानित गर्ने, चरित्रहत्या गर्ने प्रयास गरिन्छ भने गृह मन्त्रालय त्यस विषयमा अत्यन्त संवेदनशील र गम्भीर हुनेछ,” मन्त्री गुरुङले भने।
उनले विशेषगरी सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट महिलामाथि हुने चरित्रहत्या र दुर्व्यवहारप्रति कडा रूपमा प्रस्तुत हुने संकेत गरे। “जस्तोसुकै आरोप ममाथि लगाए पनि सहन सक्छु। तर कुनै नेपाली चेली वा छोरीलाई चरित्रहत्या गरेर आत्महत्या गर्न बाध्य बनाइन्छ भने त्यसलाई सरकारले गम्भीर अपराधका रूपमा हेर्नेछ,” उनले स्पष्ट पारे।
गृहमन्त्री गुरुङका यी निर्णयहरूले गृह प्रशासनको कार्यदिशाबारे नयाँ बहस सुरु गराएको छ। दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने घोषणा, जेनजी आन्दोलनसम्बन्धी मुद्दाको पुनरावलोकन र पुराना अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धतालाई राजनीतिक तथा सामाजिक वृत्तमा चासोका साथ हेरिएको छ। सरकारको आगामी कदमले यी विषयहरूमा कस्तो परिणाम ल्याउँछ भन्ने प्रतीक्षा भइरहेको छ।
प्रतिक्रिया