भिजिट भिसा ‘काउन्टर सेटिङ’ प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०८३, मंगलवार ०५:१४

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगमको करार सेवामा कार्यरत ग्राउन्ड ह्यान्डलिङ स्टाफ प्रबिन लामिछाने र सुमित्रा चन्दलाई नियन्त्रणमा लिएको हो। उनीहरूले विमानस्थलमा काउन्टर सेटिङमार्फत यात्रु पठाउने गरेको सूचना पाएपछि अध्यागमन विभागले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

अध्यागमन विभाग र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका कर्मचारीहरूले प्रस्थान अनुमति दिन नमिल्ने एक भारतीय नागरिकलाई दुई फरक विमान कम्पनीका बोर्डिङ पास उपलब्ध गराएर विदेश पठाउन सहयोग गरेका थिए। सुरुमा ती यात्रुलाई इन्डीगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास दिइएको थियो।

अनुसन्धानका क्रममा सुरक्षा जाँच पार गरेपछि अध्यागमनको निगरानी छल्न सोही यात्रुलाई पुनः फ्लाई दुबईको दुबई जाने बोर्डिङ पास उपलब्ध गराइएको खुलेको छ। विमानस्थलको सिसिटिभी फुटेजमा समेत सुरक्षा जाँचपछि इन्डीगोको बोर्डिङ पास फिर्ता लिइएको देखिएको स्रोतले जनाएको छ।

नियमअनुसार नेपाल हुँदै तेस्रो मुलुक जान चाहने भारतीय नागरिकले अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पेस गर्नुपर्ने व्यवस्था छ। तर बिना एनओसी नै सेटिङका आधारमा ती भारतीय नागरिक जेठ ३ गते दुबई गएको अध्यागमनको अभिलेखमा भेटिएको छ।

प्रहरीले पक्राउ परेका दुवै कर्मचारीमाथि मानव तस्करी, अध्यागमन नियम उल्लंघन तथा अन्य सम्भावित कानुनी पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor