नेपालमा १० हजार चार्जिङ स्टेसन आवश्यक हुने अध्ययनको निष्कर्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८३, सोमबार ०५:५४

काठमाडौं ।  नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र प्रवर्द्धनलाई प्रभावकारी बनाउन देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक पर्ने एक अध्ययनले देखाएको छ।

पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको ‘नेपालमा ईभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी प्रतिवेदनले सन् २०३० सम्म उक्त संख्यामा चार्जिङ स्टेसन स्थापना गर्न सके विद्युतीय सवारीको पहुँच उल्लेख्य रूपमा विस्तार हुने निष्कर्ष निकालेको हो।

हाल देशभर करिब एक हजार चार्जिङ स्टेसन सञ्चालनमा रहे पनि ती मुख्यतः काठमाडौं, पोखरा र भरतपुरजस्ता शहरी क्षेत्रमा केन्द्रित छन्। यसले गर्दा लामो दूरीको यात्रा तथा ग्रामीण क्षेत्रमा ईभी प्रयोगमा चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ।

सहसचिव कृष्णराज पन्थको संयोजकत्वमा तयार पारिएको प्रतिवेदनमा पूर्वाधार अभाव, ब्याट्रीको उच्च लागत, व्यवस्थापन समस्या, दक्ष जनशक्तिको कमी तथा निजी क्षेत्रको सीमित सहभागिता प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।

त्यस्तै, ब्याट्री स्वापिङ प्रविधि, ठूला मालवाहक सवारीको विद्युतीकरण तथा चार्जिङ पूर्वाधारमा लगानी विस्तार अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनको निष्कर्ष छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार मन्त्रालयले विद्युतीय सवारी प्रवर्द्धनलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ। मन्त्रालयको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार आर्थिक वर्ष २०८५/८६ सम्म देशभर चार्जिङ स्टेसन सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ।

सरकारले नेपाल विद्युत् प्राधिकरणलाई प्रमुख जिम्मेवार निकाय तोकेको छ भने सार्वजनिक स्थल र पेट्रोल पम्पहरूमा चार्जिङ स्टेसनलाई प्राथमिकता दिने योजना बनाइएको छ। साथै, प्रमुख सहरहरूमा विद्युतीय बस र ट्रली बस सञ्चालनमार्फत आन्तरिक विद्युत् खपत बढाउने लक्ष्यसमेत राखिएको छ।

प्रतिवेदनअनुसार ईभी प्रवर्द्धनले वायु प्रदूषण न्यूनीकरण, सार्वजनिक यातायात आधुनिकीकरण तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सन् २०३० सम्म ९० प्रतिशत निजी विद्युतीय सवारी प्रयोग र सन् २०४५ सम्म ‘नेट शून्य कार्बन उत्सर्जन’ को लक्ष्य हासिल गर्न पूर्वाधार विस्तार अपरिहार्य रहेको उल्लेख छ।

हाल नेपाल विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताका ६२ वटा द्रुत चार्जर सञ्चालनमा ल्याइसकेको छ भने आगामी दिनमा निजी क्षेत्रसँगको सहकार्यमा यसलाई थप विस्तार गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor