काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त बैठक आज बिहान ९ बजे बस्नेछ। सिंहदरबारस्थित संघीय संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बैठक आयोजना गरिएको हो।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन आग्रह गरिएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार बैठकका लागि आवश्यक सूचना तथा आमन्त्रण पत्र सम्बन्धित सबै दलहरूमा पठाइसकिएको छ र अधिकांश दलहरूले सहभागिता सुनिश्चित गरिसकेका छन्।
यसअघि सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग टेलिफोन संवाद गर्दै बैठक सफल बनाउन सहजीकरण गर्न आग्रह गरेका थिए। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा दलहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्यले यो बैठक आह्वान गरिएको बताइएको छ।
प्रतिक्रिया