काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सम्पन्न भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भ्रमण उपलब्धिमूलक भएको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आधार तयार भएको बताए।
उनले भारतमा आफूलाई गरिएको स्वागत व्यक्तिगत नभई नेपाल राष्ट्रप्रतिको सम्मान भएको उल्लेख गर्दै यसलाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गरे। “मलाई गरिएको सम्मान कुनै व्यक्ति विशेषलाई होइन, नेपाल र नेपाली जनतालाई गरिएको सम्मान हो,” उनले भने।
सभापति लामिछानेले विश्वकै ठूलो राजनीतिक संगठनमध्ये एक मानिने भारतीय जनता पार्टीसँगको संवादले दुई देशका राजनीतिक दलहरूबीच अनुभव आदानप्रदान तथा सहकार्य विस्तार गर्ने अवसर सिर्जना गरेको बताए। उनले लोकतन्त्र, संगठन निर्माण, युवा सहभागिता र विकासका विषयमा उपयोगी छलफल भएको जानकारी दिए।
भारत भ्रमणका क्रममा सीमा विवादको विषय किन नउठाइयो भन्ने प्रश्नमा उनले राष्ट्रिय हितसँग सम्बन्धित संवेदनशील विषयहरू नाराबाजी वा सार्वजनिक प्रदर्शनबाट भन्दा कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने धारणा व्यक्त गरे।
“कुनै पनि विषय कूटनीतिक च्यानलमार्फत, सही समय र सही ठाउँमा उठाइनुपर्छ। सीमा समस्याको समाधान ढोल बजाएर हुँदैन,” उनले भने। उनले राष्ट्रिय स्वार्थका विषयमा नेपालले आफ्नो अडान यथोचित माध्यमबाट निरन्तर राख्ने विश्वाससमेत व्यक्त गरे।
भारत भ्रमणलाई सरकार परिवर्तनको प्रयाससँग जोडेर गरिएका टिप्पणीहरूको खण्डन गर्दै लामिछानेले रास्वपा राजनीतिक अस्थिरताको पक्षमा नरहेको स्पष्ट पारे।
“हामी अस्थिरताको पक्षमा छैनौं। नेपाली जनताले स्थिरता, सुशासन र परिवर्तनका लागि हामीलाई मत दिएका हुन्। जनतासँग गरेका प्रतिबद्धताबाट हामी विचलित हुने छैनौं,” उनले बताए।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै लामिछानेले परराष्ट्र नीति कुनै दलको नभई राष्ट्रको साझा विषय भएको बताए।
उनले परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणा नै सरकारको आधिकारिक दृष्टिकोण भएको स्पष्ट पार्दै राष्ट्रिय हितका विषयमा अनावश्यक विवाद सिर्जना नगर्न आग्रह गरे।
“परराष्ट्र सम्बन्ध कुनै दल विशेषको विषय होइन। यो राष्ट्रको विषय हो। परराष्ट्र मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेपछि थप अन्योल आवश्यक छैन,” उनले भने।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा खेलकुद, सूचना प्रविधि, लगानी, व्यापार, पूर्वाधार विकास तथा युवा सहकार्यका विषयमा विस्तृत छलफल भएको जानकारी दिँदै लामिछानेले अबको नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्ने धारणा राखे।
उनले विगतका अविश्वास र आरोप–प्रत्यारोपभन्दा माथि उठेर आर्थिक साझेदारी, पूर्वाधार विकास र साझा समृद्धिको आधारमा सम्बन्ध अगाडि बढाउनुपर्ने बताए।
“नेपाल र भारतको सम्बन्ध तब मात्रै अझ बलियो हुन्छ, जब दुवै देश आर्थिक समृद्धिको यात्रामा सँगै अघि बढ्छन्। अबको कूटनीति विकास, लगानी, प्रविधि र जनस्तरको सहकार्यमा केन्द्रित हुनुपर्छ,” उनले भने।
सभापति लामिछानेले वर्तमान सरकारले विकास कूटनीतिको माध्यमबाट छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन चाहेको उल्लेख गर्दै आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा समृद्धिको साझा यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया