काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई सही मार्गमा अघि बढाइराख्न नेता–कार्यकर्ता तथा समर्थकहरूको सक्रिय खबरदारी आवश्यक रहेको बताएका छन्। उनले रास्वपाका समर्थकहरू अन्ध समर्थन गर्ने समूह नभई सही र गलत छुट्याउन सक्ने सचेत नागरिक भएको बताएका छन्।
भारतको नयाँ दिल्लीमा आयोजित पार्टीको एक विशेष कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी नेतृत्वले कुनै गल्ती गरे त्यसलाई सच्याउन समर्थकहरूले निसंकोच सुझाव र आलोचना गर्नुपर्ने धारणा राखे।
उनले भने, “हामीले केही गलत गर्यौँ भने सल्लाह र सुझाव दिनुहोला। जुन विश्वासका साथ तपाईंहरूले घर–घरमा पुगेर घण्टीमा मतदान गर्न आग्रह गर्नुभएको थियो, त्यो विश्वासमाथि आँच आउने कुनै काम हामीबाट हुने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
लामिछानेले रास्वपाको विशेषता नै आलोचना स्वीकार गर्ने संस्कार भएको उल्लेख गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिइने बताए। उनले समर्थकहरूलाई आवश्यक पर्दा नेतृत्वलाई सच्याउन र सही बाटोमा ल्याउन भूमिका खेल्न आग्रह गरे।
“कहीँ कतै हाम्रा निर्णयहरू बिग्रिएछन् भने हामीलाई सच्याउने अवसर दिनुहोला, खबरदारी पनि गर्नुहोला,” उनले भने, “रास्वपा समर्थकहरू केवल समर्थन गर्ने होइनन्, गलत देखे प्रश्न उठाउने र सच्याउने क्षमता भएका नागरिक हुन्। यदि हामी बाटो बिरायौँ भने पुनः सही मार्गमा ल्याउने जिम्मेवारी पनि तपाईंहरूको काँधमा छ।”
सभापति लामिछानेले पार्टी संगठनलाई थप सुदृढ र जनमुखी बनाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिँदै जनताको विश्वास कायम राख्नु नै सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी भएको बताए।
सम्बोधनका क्रममा उनले वर्तमान सरकारमाथि उठिरहेका विभिन्न प्रश्नहरूको सन्दर्भमा पनि धारणा व्यक्त गरे। सरकारको नियतप्रति शंका गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले काम गर्ने क्रममा केही प्रक्रियागत वा प्राविधिक कमजोरी देखिन सक्ने भए पनि सरकारको मूल उद्देश्य देश र जनताको हितमै केन्द्रित रहेको दाबी गरे।
लामिछानेले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धताबाट पछि नहट्ने बताउँदै जनताले दिएको विश्वासलाई कायम राख्न पार्टी र सरकार दुवै जिम्मेवार ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया