तराईमा बढ्दो गर्मी : १४ जिल्ला उच्च जोखिममा, तीन दिन विशेष सतर्कता अपनाउन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०८३, शुक्रबार ०४:५५

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न तराई जिल्लाहरूमा बढ्दो तापक्रमलाई मध्यनजर गर्दै तातो हावा तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गरेको छ। विभागका अनुसार आगामी तीन दिनसम्म तराईका विभिन्न जिल्लामा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

विभागले जारी गरेको सूचनाअनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा उल्लेख गरेको छ। यी जिल्लाहरूमा तातो हावा तथा लहर चल्ने सम्भावना रहेकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई पनि मौसमसम्बन्धी अध्यावधिक सूचनामा ध्यान दिन विभागले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार हाल भैरहवामा ४१ डिग्री सेल्सियस तथा नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। आगामी तीन दिनसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम खालको तातो लहर चल्ने सम्भावना रहेको बताइएको छ।

गर्मीका कारण मानिसहरूमा अत्यधिक थकान, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, शरीरमा पानीको कमी हुने, मांसपेशी दुख्ने, वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले विभागले विशेष सावधानी अपनाउन सुझाव दिएको छ।

विभागले दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, सकेसम्म चिसो तथा हावापानी हुने स्थानमा बस्न, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्न, सुतीका हलुका कपडा लगाउन तथा बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न आग्रह गरेको छ। साथै स्वास्थ्यमा असहजता महसुस भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकीय परामर्श लिन पनि सुझाव दिइएको छ।

जल तथा मौसम विज्ञान विभागले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई बढी सतर्क रहन आग्रह गर्दै मौसमसम्बन्धी अद्यावधिक सूचनाको नियमित जानकारी लिन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor