काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी थुनुवाहरूलाई धम्की दिएको आरोप लागेको छ। ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ ले जारी गरेको विज्ञप्तिमार्फत यस्तो आरोप सार्वजनिक गरेको हो।
अभियानका अनुसार प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोधस्वरूप भारतीय दूतावास नजिक शान्तिपूर्ण रूपमा पम्प्लेट प्रदर्शन गर्न पुगेका अभियन्ताहरूलाई प्रहरीले प्रदर्शन सुरु हुनुअघि नै नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल तथा स्तुल जेम्स नेपाली रहेका थिए। उनीहरूलाई प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) मा राखिएको बताइएको छ।
अभियानले जारी गरेको विज्ञप्तिमा हिरासतमा राखिएको करिब एक घण्टापछि सांसद गुरुङ दलबलसहित थुनुवा कक्षभित्र प्रवेश गरेको दाबी गरिएको छ। त्यहाँ उनले अभियन्ताहरूलाई मानसिक दबाब दिने तथा डरत्रास देखाउने प्रयास गरेको आरोप लगाइएको छ।
विज्ञप्तिअनुसार गुरुङले ‘तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ? यो अन्तिम मौका हो, अब प्रहरी र सरकारले छोड्दैन, सरकारविरुद्ध बोल्न बन्द गर्नुस्’ जस्ता अभिव्यक्ति दिएको आरोप लगाइएको छ। अभियानले यस्ता अभिव्यक्तिले नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको दाबी गरेको छ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अभियानले हिरासतभित्र भएको भनिएको राजनीतिक हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न तथा मानवअधिकार उल्लंघन भएको पाइए दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
अभियानले प्रहरी प्रशासनको राजनीतिक दुरुपयोग रोक्न, नागरिकको शान्तिपूर्ण विरोध तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान सुनिश्चित गर्न र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
अभियानका संयोजक सुनिल सिंह र सह–संयोजक अजय सोडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा नागरिकको विचार, अभिव्यक्ति र शान्तिपूर्ण विरोधको अधिकार संविधानद्वारा सुनिश्चित गरिएको उल्लेख गर्दै घटनाको स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरिएको छ।
यता, घटनाबारे सांसद सुधन गुरुङ वा सम्बन्धित सुरक्षा निकायबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। आरोपबारे आधिकारिक धारणा आउन बाँकी रहेको छ।
प्रतिक्रिया