काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चित बनेकी तुलसी अधिकारी (तुलसा कलेक्सन) लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई थुनामा राखी मुद्दाको थप सुनुवाइ अगाडि बढाउन आदेश दिएको हो।
अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ रुपैयाँ असुलेको आरोपमा आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। नेपाल प्रहरीले उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो।
नवलपरासी पश्चिम स्थायी घर भई हाल ललितपुरको भैँसेपाटीमा बसोबास गर्दै आएकी अधिकारीविरुद्ध गत चैत महिनामै ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। अभियोगपत्रअनुसार उनले एक व्यवसायीबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा अधिकारीको आर्थिक कारोबार अस्वाभाविक तथा स्रोत नखुलेको देखिएको भन्दै सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। फरार रहेकी अधिकारीलाई पक्राउ गर्न इन्टरपोलमार्फत २०८२ चैत ३ गते रेड नोटिससमेत जारी गरिएको थियो।
प्रहरी अनुसन्धानका आधारमा दायर गरिएको मुद्दामा तुलसी अधिकारीसहित नौ जना व्यक्ति तथा एक व्यावसायिक संस्थालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूको सूचीमा भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गंगा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल तथा सिरहाका अशोककुमार अग्रवाल रहेका छन्। उनीहरूले तुलसी अधिकारीको निर्देशनअनुसार व्यवसायीबाट रकम संकलन गरेको आरोप अभियोजन पक्षको छ।
यता अदालतमा बयान दिने क्रममा तुलसी अधिकारीले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेकी छन्। उनले जाहेरी दिने व्यवसायीसँग आफू अघोषित रूपमा पति–पत्नीसरह सम्बन्धमा बसेको दाबी गर्दै ब्ल्याकमेलिङ वा हनिट्रयापमार्फत रकम असुलेको आरोप निराधार रहेको जिकिर गरेकी छन्।
उनले अटोमोबाइल व्यवसायमा संलग्न रहने क्रममा ती व्यवसायीसँग चिनजान भएको र व्यवसायीले आफ्नी श्रीमती क्यान्सरबाट पीडित रहेको तथा भविष्यमा विवाह गर्ने आश्वासन दिएर आफूलाई काठमाडौं ल्याई बसोबासको व्यवस्था गरिदिएको दाबी अदालतमा गरेकी छन्।
अधिकारीले आफ्नो सम्पत्तिको मुख्य स्रोत ‘तुलसा कलेक्सन’ व्यवसाय रहेको तथा चीनसँग समेत व्यापारिक कारोबार गर्ने उद्देश्यले ‘तुलसा कलेक्सन एक्सपोर्ट इम्पोर्ट’ कम्पनी सञ्चालन गरिरहेको बताएकी छन्। आफूविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरणको आरोप झूटो रहेको र करसम्बन्धी कुनै बक्यौता भए राज्यलाई तिर्न तयार रहेको उनको भनाइ छ।
उनले व्यवसायीबाट प्राप्त रकममध्ये केही रकम छोरीको शैक्षिक शुल्कका लागि दिइएको, पसलसम्बन्धी विषयमा व्यवसायीले आफैं फिर्ता लिएको तथा स्कुटर र सुनका गरगहनासमेत आफ्नै कमाइबाट खरिद गरिएको दाबी गरेकी छन्।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै अब मुद्दाको थप अनुसन्धान तथा सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ। अदालतबाट अन्तिम फैसला नआएसम्म अधिकारीमाथि लगाइएका आरोपहरू कानुनी परीक्षणकै क्रममा रहनेछन्।
प्रतिक्रिया