काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ। राजनीतिक तथा कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, साझा हित तथा भविष्यका सहकार्यका सम्भावनाबारे गहन छलफल भएको बताइएको छ।
भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य विस्तार गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
सभापति लामिछानेसँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै नेपालसँग सहकार्यलाई थप मजबुत बनाउन भारत इच्छुक रहेको सन्देश दिएका छन्। उनले साझा समृद्धि, विकास र क्षेत्रीय सहकार्यका लागि नजिकबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई सधैं प्राथमिक साझेदारका रूपमा हेरिएको उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत तयार रहेको बताएका छन्।
रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि जेठ १८ गते नयाँ दिल्ली पुगेको थियो। भ्रमणका क्रममा उनलाई भाजपा मुख्यालयमा स्वागत गरिएको थियो।
भ्रमणकै क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, आर्थिक विकास तथा आपसी हितका विषयमा छलफल गरेका थिए।
प्रतिनिधिमण्डलमा सभापति लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका छन्।
यस भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने, राजनीतिक संवाद विस्तार गर्ने तथा विकास र समृद्धिका साझा एजेन्डामा सहकार्य बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रतिक्रिया