काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै सदनमा अवरोध गरेका हुन्।
गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि विपक्षी दलहरूले त्यसलाई राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको संवेदनशील विषय भन्दै संसद्को रेकर्डबाट हटाउन वा दाबीको पुष्टि हुने तथ्य तथा प्रमाण प्रस्तुत गर्न माग गरेका छन्।
यसैबीच हर्कराज राई ले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा सत्ता र प्रतिपक्षबीच कुनै विभाजन हुन नसक्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश पार्टी, जाति, धर्म र वर्गभन्दा माथि रहने उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए।
विपक्षी दलहरूको निरन्तर विरोध र नाराबाजीपछि सभामुख डोलप्रसाद अर्याल ले कार्यसूचीका केही बुँदा हटाउँदै बैठक स्थगित गरेका छन्। सभामुख अर्यालका अनुसार प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्नेछ।
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा मात्र होइन, राष्ट्रिय सभामा समेत विरोध देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ, तथ्यगत आधार वा सार्वजनिक क्षमायाचनाको माग गरिरहेका छन्। अब आगामी बैठकमा हुने राजनीतिक संवाद र छलफलले संसद्मा देखिएको गतिरोध अन्त्य हुने वा थप जटिल बन्ने भन्ने विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया