सूचना प्रविधि, डिजिटल सुरक्षा र लगानी विस्तारमा नेपाल–अमेरिका सहकार्यबारे छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८३, मंगलवार ०५:१३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारका विविध विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्तामा अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल र अमेरिकाबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि र दूरसञ्चार क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउन अमेरिका इच्छुक रहेको बताइन्। उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेको उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरण महत्वपूर्ण हुने धारणा राखिन्।

रोजर्सले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट उत्पन्न हुने चुनौतीहरूको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा बालबालिकासम्बन्धी संवेदनशील सामग्री नियन्त्रणमा नेपाल र अमेरिकाबीच सहकार्य हुन सक्ने बताइन्। उनले डिजिटल पूर्वाधार विकास तथा प्रविधि क्षेत्रमा लगानी विस्तारका लागि अमेरिकाले सहयोग गर्न तत्पर रहेको समेत उल्लेख गरिन्।

सो अवसरमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल सूचना प्रविधिको माध्यमबाट आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले सकारात्मक रूपमा लिने बताए।

मन्त्री तिमिल्सिनाले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपालमा विद्यमान कानुनी र नीतिगत व्यवस्थाबारे जानकारी गराए। उनले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार, सुरक्षित र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए।

भेटवार्तामा नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा समेत सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply