नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौं र ललितपुर परिसरका प्रमुख फेरिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८३, मंगलवार ०५:०५

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन गरेको छ। सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरका प्रमुखसहित विभिन्न महत्वपूर्ण विभाग, ब्युरो तथा प्रदेश प्रहरी कार्यालयहरूमा नेतृत्व परिवर्तन गरिएको छ।

सरुवा सूचीअनुसार दिलिप घिमिरे जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा खटाइएका छन्। यसअघि काठमाडौं परिसरको नेतृत्व गरिरहेका रमेश थापा लाई प्रहरी प्रधान कार्यालय अन्तर्गत अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ।

त्यस्तै, तुलबहादुर कार्की लाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी दिइएको छ। ललितपुरका निवर्तमान प्रमुख होविन्द्र बोगटी लाई प्रहरी प्रधान कार्यालय अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

यसैगरी सुवासचन्द्र बोहरा लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौंको प्रमुखमा नियुक्त भएका छन् भने अनुपम शमशेर जबरा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, अनुसन्धान ब्युरो, ट्राफिक कार्यालय, विशेष सुरक्षा निकाय तथा प्रहरी प्रधान कार्यालयका विभिन्न महाशाखाहरूमा व्यापक नेतृत्व हेरफेर गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइराला, मानव बेचबिखन अनुसन्धान ब्युरोमा नकुल पोखरेल, गण्डकी प्रदेश प्रहरी कार्यालयमा कृष्णप्रसाद कोइराला, कोशी प्रदेश प्रहरी कार्यालयमा भीमबहादुर दाहाल तथा कर्णाली प्रदेश प्रहरी कार्यालयमा सन्तोष सिंह राठौर सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठनभित्र कार्यक्षमता अभिवृद्धि, अनुभव आदानप्रदान तथा प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको हो।

सरुवा भएका सबै एसएसपीहरूलाई यथाशीघ्र नयाँ जिम्मेवारी सम्हाल्न तथा सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो सरुवासँगै नेपाल प्रहरीका विभिन्न रणनीतिक तथा परिचालन इकाइहरूमा नयाँ नेतृत्वको जिम्मेवारी तय भएको छ, जसले आगामी दिनमा सुरक्षा व्यवस्थापन, अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply