पूर्वगृहमन्त्री सुधन गुरुङमाथिको छानबिन अन्तिम चरणमा, समितिले थप ५ दिन समय माग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८३, मंगलवार ०५:०३

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित उच्चस्तरीय समितिले अनुसन्धानको मुख्य काम सम्पन्न गरेको जनाएको छ। तोकिएको समयसीमा सोमबार सकिए पनि प्रतिवेदनलाई अन्तिम रूप दिन समितिले सरकारसँग थप पाँच दिनको समय मागेको छ।

समितिका अनुसार गुरुङसँग बयान लिने, आवश्यक कागजात संकलन गर्ने तथा प्रमाणहरू जुटाउने कार्य सम्पन्न भइसकेको छ। यद्यपि प्रतिवेदन लेखन तथा केही थप प्रमाणहरूको विश्लेषण गर्न बाँकी रहेकाले समय थप आवश्यक परेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरिएको छ। यस विषयमा सरकारले भने हालसम्म औपचारिक निर्णय गरिसकेको छैन।

गत वैशाख २८ गते अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा गठित तीन सदस्यीय समितिमा शोभाकान्त पौडेल र अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।

समितिले मुख्य रूपमा पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति विवाद, व्यवसायी दीपक भट्ट को कम्पनीमा रहेको शेयर लगानी, हदबन्दीभन्दा बढी जग्गा स्वामित्व तथा विभिन्न विवादित जग्गा खरिद–बिक्रीसम्बन्धी विषयमा केन्द्रित भएर अनुसन्धान गरिरहेको छ।

चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङ सार्वजनिक गरिएको सम्पत्ति विवरणपछि विभिन्न विवादमा तानिएका थिए। सार्वजनिक पदमा रहँदा र पछि पेश गरिएको सम्पत्ति विवरणमा देखिएका असंगति तथा प्रश्नहरूबारे चौतर्फी आलोचना बढेपछि उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

गुरुङको राजीनामापछि सरकारले उनीमाथि उठेका आरोप र प्रश्नहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय समिति गठन गरेको थियो। समितिले अब केही प्राविधिक तथा विश्लेषणात्मक काम पूरा गरेपछि आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

slot gacor