बढ्यो बर्ड फ्लू, गोकर्णेश्वरमा हाई अलर्ट : नियन्त्रणका लागि मेयर दीपक रिसाल स्वयं खटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०८३, सोमबार ०६:१३

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) को संक्रमण देखिएपछि नगरपालिका उच्च सतर्कतामा गएको छ। संक्रमण फैलिन नदिन नगरपालिकाले ‘हाई अलर्ट’ घोषणा गर्दै नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ।

संक्रमण पुष्टि भएको क्षेत्रमा तत्काल निगरानी बढाइएको छ भने पशु स्वास्थ्य प्राविधिक, पशु चिकित्सक तथा सम्बन्धित निकायका प्रतिनिधिहरू परिचालन गरिएको छ। नगर प्रमुख दीपककुमार रिसाल स्वयं प्रभावित क्षेत्रमा पुगेर अवस्थाबारे जानकारी लिनुका साथै नियन्त्रणका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रभावित क्षेत्रको निरीक्षणपछि नगर प्रमुख रिसालले बर्ड फ्लूलाई सामान्य रूपमा लिन नहुने भन्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरे।

उनले भने, “नगरवासीको स्वास्थ्य र सुरक्षाभन्दा ठूलो विषय अरू हुन सक्दैन। बर्ड फ्लूको संक्रमण फैलिन नदिन नगरपालिका पूर्ण रूपमा सक्रिय छ। आवश्यक सबै प्राविधिक जनशक्ति परिचालन गरिएको छ र जोखिम नियन्त्रणका लागि कुनै कसर बाँकी राखिने छैन।”

नगर प्रमुख रिसालले किसानहरूलाई रोगको लक्षण देखिएका कुखुरा वा अन्य चराचुरुङ्गी लुकाएर नराख्न आग्रह गर्दै तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन समेत अनुरोध गरे।

उनले थपे, “संक्रमित वा शंकास्पद पक्षी देखिएमा तत्काल जानकारी दिनुहोस्। समयमै सूचना प्राप्त भए संक्रमण नियन्त्रण गर्न सहज हुन्छ। सबैको सहकार्यबाट मात्रै यसलाई रोक्न सकिन्छ।”

नगरपालिकाका पशु चिकित्सकहरूले प्रभावित क्षेत्रमा नमुना संकलन, निगरानी तथा जैविक सुरक्षा (बायो–सिक्युरिटी) सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्। आवश्यक परे संक्रमित क्षेत्रमा रहेका कुखुरा तथा पक्षीहरूको व्यवस्थापनसमेत गरिने जनाइएको छ।

नगरपालिकाले कुखुरा पालन व्यवसायीहरूलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न, नियमित सरसफाइ गर्न तथा सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरेको छ। साथै बर्ड फ्लूसम्बन्धी कुनै पनि सूचना वा शंका भए तत्काल नगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्थानीयवासीहरूमा त्रास फैलिन नदिन तथा संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन नगरपालिका, पशु सेवा कार्यालय र सम्बन्धित सरकारी निकायहरूबीच समन्वयात्मक रूपमा काम भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply