राप्रपा विभाजनको संघारमा : धवलशम्शेर समूहको सामूहिक राजीनामा तयारी, नयाँ दल गठनको संकेत
rastriyakhabar
१७ जेष्ठ २०८३, आईतवार ०५:२२
काठमाडौं । देशको प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आन्तरिक संकटमा फसेको छ। पार्टीभित्र लामो समयदेखि चल्दै आएको वैचारिक र संगठनात्मक विवाद अब विभाजनको चरणमा पुगेको स्रोतहरूले बताएका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको संस्थापन इतर समूहले पार्टीबाट सामूहिक रूपमा बाहिरिने तयारी गरेको बताइएको छ।
स्रोतका अनुसार राणा समूहले आगामी जेठ १८ गते काठमाडौंस्थित एक कार्यक्रममा पत्रकार सम्मेलनमार्फत सामूहिक राजीनामाको घोषणा गर्ने तयारी गरिरहेको छ। यसका लागि राजीनामाको मस्यौदा समेत अन्तिम चरणमा पुगेको जनाइएको छ।
नेतृत्वमाथि स्वेच्छाचारिता र वैचारिक विचलनको आरोप
राणा पक्षले पार्टी नेतृत्वमाथि राप्रपाको मूल सिद्धान्त र उद्देश्यबाट विचलित भएको आरोप लगाएको छ। उनीहरूको दाबी अनुसार राजसंस्था पुनर्स्थापनाको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नेतृत्व असफल भएको छ।
पार्टीको वैचारिक धारलाई कमजोर बनाइएको, केन्द्रीय समितिका निर्णयहरूलाई बेवास्ता गरिएको तथा पार्टी सञ्चालनमा एकलौटी शैली अपनाइएको आरोप समेत मस्यौदामा समावेश गरिएको बताइएको छ।
इतर पक्षले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनका लागि पनि वर्तमान नेतृत्वलाई जिम्मेवार ठहर गरेको छ।
५० देखि ६० केन्द्रीय सदस्य बाहिरिने दाबी
राणा समूहका नेताहरूका अनुसार ५० देखि ६० जना केन्द्रीय सदस्य सामूहिक राजीनामाका लागि तयार भइसकेका छन्।
पार्टी त्याग्न सक्ने नेताहरूमा मुकुन्दश्याम गिरी, सगुन लावती तथा नारायण कोइराला लगायतका नाम चर्चामा छन्।
दुर्गा प्रसाईँसँग नयाँ राजनीतिक मोर्चाको तयारी
राप्रपा छाडेपछि राणा समूह निष्क्रिय नबस्ने र विभिन्न राजावादी शक्तिहरूलाई एकताबद्ध गरेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने रणनीतिमा रहेको बताइएको छ।
यसक्रममा डा. राणाले दुर्गा प्रसाईँ सँग नियमित संवाद गरिरहेको स्रोतको दाबी छ। नयाँ राजनीतिक दल दर्ता गर्ने तथा संयुक्त रूपमा राजनीतिक अभियान अघि बढाउने विषयमा दुवै पक्षबीच सकारात्मक समझदारी बनेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।
पूर्वअध्यक्षहरू राप्रपामै रहने संकेत
यता राप्रपाका पूर्वअध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने पार्टीमै रहने बताइएको छ।
त्यसैगरी रवीन्द्र मिश्र तथा कमल थापा तत्काल राणा समूहसँग जोडिने सम्भावना कम रहेको राजनीतिक विश्लेषण छ।
संस्थापन पक्षको प्रतिक्रिया
संस्थापन पक्षले भने सीमित व्यक्तिहरू मात्र बाहिरिन सक्ने दाबी गर्दै विभाजनको प्रभाव पार्टीमा ठूलो नपर्ने जनाएको छ। पार्टीका केही नेताहरूले जिम्मेवार तहका अधिकांश नेता तथा कार्यकर्ता राप्रपामै रहने दाबी गरेका छन्।
उता राणा समूहले महाधिवेशन छिटो गर्न माग गर्दै आए पनि संस्थापन पक्षले उनीहरू महाधिवेशनको तयारीभन्दा बाहिरिने रणनीतिमा केन्द्रित रहेको आरोप लगाएको छ।
यदि राणा समूहले औपचारिक रूपमा पार्टी त्याग्ने निर्णय कार्यान्वयन गरेमा राप्रपाले पछिल्ला वर्षहरूमा भोगेको सबैभन्दा ठूलो संगठनात्मक संकटको सामना गर्नुपर्ने देखिएको छ। राजावादी राजनीतिमा यसको प्रत्यक्ष प्रभाव पर्ने र नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना समेत बढेको विश्लेषण गरिएको छ।
प्रतिक्रिया