बालेन सरकार बनेपछि अमेरिकी उच्च अधिकारीहरूको नेपाल दौडधुप तीव्र, उपविदेशमन्त्री सारा बी. रोजर्स आज काठमाडौं आउँदै
rastriyakhabar
१७ जेष्ठ २०८३, आईतवार ०५:१९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण क्रम तीव्र बनेको छ। यही क्रममा अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति तथा सार्वजनिक मामिला सम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्ने भएकी छन्।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार उपविदेशमन्त्री रोजर्स भोलि आयोजना हुने ‘एसेन्ट समिट २०२६’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। अमेरिकी दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
नेपाल बसाइका क्रममा रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
दुई महिनामै तीन उच्चस्तरीय भ्रमण
बालेन शाह नेतृत्वको सरकार गठन भएयता अमेरिकी उच्च अधिकारीहरूको भ्रमण बाक्लिएको छ। गत वैशाख पहिलो साता अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आएका थिए।
त्यसको लगत्तै वैशाख दोस्रो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्यएसिया हेर्ने विशेष दूत सर्जियो गोर ले तीनदिने नेपाल भ्रमण गरेका थिए।
अब नेपाल आउन लागेकी रोजर्स अमेरिकी प्रशासनको उच्च तहकी अधिकारी मानिन्छिन्। कूटनीतिक वृत्तमा दुई महिनाको छोटो अवधिमा लगातार भएका यस्ता भ्रमणलाई नेपालप्रति वासिङ्टनको बढ्दो रणनीतिक चासोका रूपमा हेरिएको छ।
बालेनको फरक कूटनीतिक अभ्यास
पछिल्ला भ्रमणहरूमा अमेरिकी प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा रवि लामिछाने लगायतका नेताहरूसँग भेटघाट गरेको भए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने छुट्टै औपचारिक भेटवार्ता भएको सार्वजनिक जानकारी छैन।
प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत वा एक्लाएक्लै भेटघाटभन्दा राष्ट्रिय हितका विषयमा संस्थागत तथा सामूहिक संवादलाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै आएको बताइन्छ। यही कारण विदेशी अधिकारीहरूले पनि सरकारी संयन्त्रमार्फत आफ्ना चासो र धारणा प्रस्तुत गर्दै आएका छन्।
यसपटकको भ्रमणमा उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध, सार्वजनिक कूटनीति, सूचना प्रविधि, युवा सहभागिता तथा द्विपक्षीय सहकार्यका विषयमा विभिन्न तहमा छलफल गर्ने अपेक्षा गरिएको छ। उनको भ्रमणलाई नेपाल–अमेरिका सम्बन्धको सन्दर्भमा महत्त्वपूर्ण कूटनीतिक गतिविधिका रूपमा हेरिएको छ।
प्रतिक्रिया