चीनलाई लक्षित गर्दै अमेरिकी रक्षामन्त्रीको चेतावनी : ‘एसियाली देशहरूले रक्षा खर्च बढाऊन्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८३, आईतवार ०५:२०

सिंगापुर । अमेरिकी रक्षामन्त्री पिट हेगसेथ ले एसियाली राष्ट्रहरूलाई चीनको बढ्दो सैन्य शक्ति र क्षेत्रीय प्रभावलाई सन्तुलनमा राख्न आफ्नो रक्षा बजेट उल्लेखनीय रूपमा बढाउन आग्रह गरेका छन्।

सिंगापुरमा आयोजित प्रतिष्ठित सुरक्षा सम्मेलन साङ्ग्री-ला डायलग लाई शनिबार सम्बोधन गर्दै हेगसेथले चीनको तीव्र सैन्य आधुनिकीकरण र विस्तारवादी रणनीतिप्रति संकेत गर्दै मित्रराष्ट्रहरूले आत्मनिर्भर सुरक्षा क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

उनले सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न क्षेत्रीय साझेदार राष्ट्रहरूबीच बलियो सैन्य सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शक्तिको सन्तुलन कायम राख्न सामूहिक तयारी अपरिहार्य भएको बताए।

जीडीपीको ३.५ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्न आग्रह

अमेरिकाले आफ्नै रक्षा क्षमताको विस्तारका लागि करिब १.५ ट्रिलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाइरहेको उल्लेख गर्दै रक्षामन्त्री हेगसेथले एसियाली मुलुकहरूले पनि आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा ३.५ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने धारणा राखे।

उनले धनी राष्ट्रहरूको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अमेरिकाले मात्र बहन गर्ने समय समाप्त भएको स्पष्ट पार्दै अब साझेदार राष्ट्रहरूले आफ्नै सुरक्षा क्षमतामा पर्याप्त लगानी गर्नुपर्ने बताए।

“सुरक्षाको भार साझा हुनुपर्छ। मित्रराष्ट्रहरू आफैँ सक्षम, जिम्मेवार र आत्मनिर्भर बन्न आवश्यक छ,” उनले भने।

अमेरिका–चीन सम्बन्ध केही सहज

चीनप्रति कडा धारणा राखे पनि अमेरिका–चीन सम्बन्धका विषयमा बोल्दै हेगसेथले विगतका वर्षहरूको तुलनामा हाल दुई देशबीचको सम्बन्ध केही सकारात्मक दिशामा अघि बढेको बताए।

उनका अनुसार दुवै देशका सैन्य अधिकारीहरूबीच निरन्तर संवाद भइरहेकाले सम्भावित तनाव न्यूनीकरणमा सहयोग पुगेको छ।

इरानलाई अमेरिकी चेतावनी

पश्चिम एसियाको अवस्थाबारे बोल्दै अमेरिकी रक्षामन्त्रीले कूटनीतिक प्रयास असफल भएमा इरानविरुद्ध सैन्य कारबाहीको विकल्प खुला रहेको चेतावनी दिए।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले कुनै पनि परिस्थितिमा आणविक हतियार प्राप्त गर्न नपाओस् भन्ने विषयमा दृढ रहेको बताए।

ताइवानलाई हतियार बिक्रीबारे अन्तिम निर्णय ट्रम्पकै

ताइवानलाई हतियार बिक्रीसम्बन्धी प्रश्नको जवाफ दिँदै हेगसेथले अन्तिम निर्णय राष्ट्रपति ट्रम्पकै अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पारे।

ताइवान ले हाल अमेरिकाबाट करिब १४ अर्ब डलरसम्मका अत्याधुनिक हतियार खरिदका लागि स्वीकृति पर्खिरहेको छ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ भने अमेरिकाले ताइवानको सुरक्षा क्षमतालाई निरन्तर समर्थन गर्दै आएको छ।

विश्लेषकहरूका अनुसार सिंगापुरबाट आएको अमेरिकी रक्षामन्त्रीको सन्देशले आगामी दिनमा इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा, रक्षा सहकार्य तथा अमेरिका–चीन प्रतिस्पर्धालाई थप केन्द्रमा ल्याउने संकेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply