काठमाडौं । शिक्षा, बालविकास, सामाजिक सचेतना तथा जनसरोकारका विषयलाई निरन्तर उजागर गर्दै पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय योगदान पुर्याउँदै आउनुभएका राष्ट्रियखबर डटकमका प्रधानसम्पादक मुकुन्द ढुंगाना सम्मानित हुनुभएको छ।
एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) को तेस्रो महाधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा पत्रकारिता क्षेत्रमार्फत शिक्षा, बालअधिकार, विद्यालय शिक्षा र सामाजिक उत्तरदायित्वका विषयलाई निरन्तर प्राथमिकताका साथ उठान गरेको योगदानको कदर गर्दै ढुंगानालाई ‘अपेन विशेष सम्मान–२०८३’ प्रदान गरिएको हो।
कार्यक्रमका आयोजक तथा अपेनका महासचिव कृष्णकुमार बोहोरा ले पत्रकार मुकुन्द ढुंगानाले विगत दुई दशकदेखि शिक्षा क्षेत्रका समस्या, चुनौती, उपलब्धि तथा नीतिगत विषयहरूलाई निरन्तर रूपमा सञ्चारमाध्यममार्फत उजागर गर्दै शिक्षा क्षेत्रलाई सचेत, सशक्त र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
उहाँले भन्नुभयो, “पत्रकार मुकुन्द ढुंगाना शिक्षा क्षेत्रका आवाजलाई निरन्तर रूपमा उठाउँदै आउनुभएको पत्रकार हुनुहुन्छ। उहाँले शिक्षा क्षेत्रका समस्या मात्र होइन, सुधारका प्रयास, सफल अभ्यास र सरोकारवालाहरूका आवाजलाई पनि राष्ट्रिय बहसको विषय बनाउने काम गर्नुभएको छ। शिक्षा क्षेत्रप्रति उहाँले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अपेनले विशेष सम्मान प्रदान गरेको हो।”
महासचिव बोहोराले शिक्षा क्षेत्रको विकासमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिताले समाज परिवर्तनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले शिक्षा र सञ्चार क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा पनि राख्नुभयो।
सम्मान ग्रहण गर्दै पत्रकार मुकुन्द ढुंगानाले आफूले प्राप्त गरेको सम्मान सम्पूर्ण शिक्षा क्षेत्र, शिक्षक, विद्यार्थी तथा सत्य र जिम्मेवार पत्रकारितामा विश्वास गर्ने सञ्चारकर्मीहरूको साझा सम्मान भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा क्षेत्रका सकारात्मक अभ्यास, समस्या र समाधानका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, हिसानका महासचिव रामहरी सिलवाल, अपेनका अध्यक्ष बद्रीप्रसाद दाहाल, प्याब्सनका महासचिव आरबी कटुवाल, एन–प्याब्सनका महासचिव प्रकाश खड्का, शिक्षाविद् तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महाधिवेशनमा शिक्षा, पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सहभागीहरूले पत्रकार मुकुन्द ढुंगानाको सम्मानले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने पत्रकारहरूको योगदानको कदर भएको बताएका थिए।
प्रतिक्रिया