१३ करोड ९० लाखको चिया अनुसन्धान केन्द्र होटलमा परिणत ! किसानका लागि बनेको संरचना निजी फर्मलाई १० वर्षका लागि लिज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८३, आईतवार ०५:१६

इलाम । नेपालमा चिया खेती सुरु भएको करिब १६० वर्षपछि इलाममा अत्याधुनिक चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण हुँदा किसानहरू निकै उत्साहित भएका थिए। चियामा लाग्ने रोगको पहिचान, गुणस्तर परीक्षण, उत्पादन वृद्धि तथा प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षासहित निर्माण गरिएको केन्द्र अहिले भने अनुसन्धानको थलो बन्ने सट्टा होटल सञ्चालनका लागि निजी कम्पनीलाई जिम्मा दिइएपछि विवादमा तानिएको छ।

कोसी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको संयुक्त लगानीमा इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण गरिएको ‘टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर’ गत २७ मंसिर २०८१ मा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए। भवन निर्माणमा मात्रै १३ करोड ९० लाख रुपैयाँ खर्च भएको थियो। त्यसमध्ये १० करोड १ लाख रुपैयाँ प्रदेश सरकारको सशर्त वित्तीय हस्तान्तरणमार्फत उपलब्ध भएको थियो भने बाँकी रकम सूर्योदय नगरपालिकाले व्यहोरेको थियो।

अनुसन्धानको सपना, होटल सञ्चालनको निर्णय

चिया बगानको बीचमा निर्माण गरिएको उक्त केन्द्रमा चिया परीक्षणका लागि आवश्यक उपकरण र प्रयोगशाला पूर्वाधार समेत जडान भइसकेको नगरपालिकाकै कर्मचारीहरू बताउँछन्। तर, करोडौँ लगानीमा तयार भएको संरचना सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति अभाव रहेको कारण देखाउँदै नगरपालिकाले केन्द्रलाई निजी क्षेत्रको जिम्मा लगाएको छ।

नगरपालिकाले केन्द्रलाई चिया अनुसन्धान तथा प्रवर्द्धनका लागि प्रयोग गर्नुको सट्टा वार्षिक २५ लाख रुपैयाँ (भ्याट बाहेक) बुझाउने गरी १० वर्षका लागि निजी कम्पनी ‘उत्तम प्रगति कन्स्ट्रक्सन प्रालि, फिक्कल’ लाई लिजमा दिएको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक मेयर दुर्गाकुमार बरालले उक्त कम्पनीसँग सम्झौता भइसकेको पुष्टि गरेका छन्।

“जनशक्ति दिन्छौँ भन्दा पनि सुनिएन” : नार्क र नास्ट

नगरपालिकाले प्राविधिक अभावलाई कारण देखाए पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय तथा चिया क्षेत्रका विज्ञहरूले भने यो निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

विज्ञहरूका अनुसार केन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन आफूहरूले पटक–पटक प्रस्ताव राखेका थिए। तर जनशक्ति व्यवस्थापनको प्रक्रिया चलिरहेकै अवस्थामा नगरपालिकाले हतारमा निजी कम्पनीसँग सम्झौता गरेको उनीहरूको आरोप छ।

उनीहरूका अनुसार कन्यामको वातावरण अनुसन्धानका लागि अत्यन्त उपयुक्त भएकाले नार्क, नास्ट तथा अन्य निकायका अनुसन्धानकर्ताहरू समेत त्यहाँ खटिन उत्सुक थिए। तर अनुसन्धान केन्द्रलाई होटल सञ्चालनतर्फ मोड्ने निर्णयले चिया क्षेत्रको दीर्घकालीन विकासमा गम्भीर असर पर्ने उनीहरूको भनाइ छ।

किसान भन्छन् : गुणस्तर परीक्षणबाट अझै वञ्चित

इलामका चिया किसानहरूले वर्षौँदेखि आफ्ना उत्पादनको गुणस्तर परीक्षणका लागि पर्याप्त सुविधा नपाएको गुनासो गर्दै आएका छन्। केन्द्र सञ्चालनमा आएपछि गुणस्तर परीक्षण, रोग पहिचान तथा प्राविधिक परामर्श सहज हुने अपेक्षा गरिएको थियो।

तर केन्द्र अनुसन्धानका लागि सञ्चालन हुन नसक्दा किसानहरू अझै पनि पुरानै समस्याबाट गुज्रिन बाध्य छन्। स्थानीयका अनुसार गुणस्तर परीक्षणको अभावले हरेक वर्ष किसानहरूलाई आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।

आर्थिक अनियमितताको आशंका, अख्तियार जाने तयारी

स्थानीय बासिन्दाले भने केन्द्र निजी कम्पनीलाई सुम्पिने प्रक्रियामा आर्थिक चलखेल भएको आशंका व्यक्त गरेका छन्। केही स्थानीयले कम्पनीका सञ्चालक र नगरपालिकाका पदाधिकारीबीच आर्थिक लेनदेन भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

किसान र स्थानीय सरोकारवालाहरूले संयुक्त रूपमा समूह गठन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिएका छन्।

अनुसन्धान केन्द्र कि डिलक्स होटल ?

स्थानीयवासीहरूको प्रश्न छ—किसानको हितका लागि निर्माण गरिएको करोडौँ रुपैयाँको अनुसन्धान केन्द्र अन्ततः अनुसन्धानका लागि सञ्चालन हुने हो कि पर्यटक लक्षित डिलक्स होटलमा रूपान्तरण गरिने हो ?

सरकारी लगानीमा बनेको संरचनाको उद्देश्य नै परिवर्तन हुने गरी गरिएको निर्णयले अहिले इलामको चिया क्षेत्र, किसान र सरोकारवाला निकायबीच गम्भीर बहस सिर्जना गरेको छ। किसानहरू भने अनुसन्धान केन्द्रलाई मूल उद्देश्यअनुसार सञ्चालन गरी चिया क्षेत्रको विकासमा उपयोग गर्नुपर्ने मागमा अडिग छन्।

प्रतिक्रिया

Leave a Reply