तेश्रो राष्ट्रिय महाधिवेशनआज हुँदै, प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधारमा जोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०८३, शनिबार ०७:००

काठमाडौं । देशभरका पूर्वप्राथमिक विद्यालय तथा प्रारम्भिक बालशिक्षासँग आबद्ध शिक्षक–शिक्षिकाहरूको छाता संगठन एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (एपेन) को तेश्रो राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा भव्य रूपमा सम्पन्न हुँदैछ।

काठमाडौंको पिङ्गलास्थित होटल वेस्ट वेस्टर्न प्लस मा बिहान ९ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा देशभरबाट आएका प्रि–स्कुल सञ्चालक, शिक्षक, शिक्षाविद्, शिक्षा क्षेत्रका विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

देशभरिका सम्पूर्ण पूर्व प्राथमिक विद्यालय तथा सम्बद्ध शिक्षाकर्मीहरू एक होऔँ” भन्ने मूल नारासहित आयोजना गरिएको महाधिवेशनले नेपालको प्रारम्भिक बालशिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

महाधिवेशनमा प्रारम्भिक बालविकास शिक्षाको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा गहन छलफल हुने कार्यक्रम रहेको छ। साथै, बदलिँदो शैक्षिक परिवेशअनुसार पूर्वप्राथमिक शिक्षालाई प्रविधिमैत्री, बालमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन आवश्यक नीतिगत सुधारबारे समेत बहस गरिनेछ।

एपेनका पदाधिकारीहरूले नेपालमा प्रारम्भिक बालशिक्षा क्षेत्रको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय पूर्वप्राथमिक शिक्षा अपरिहार्य रहेको बताएका छन्। उनीहरूले सरकारले प्रारम्भिक बालशिक्षालाई राष्ट्रिय शिक्षा नीतिको केन्द्रमा राखेर आवश्यक कानुनी, नीतिगत तथा आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनुका साथै संगठनको भावी कार्यदिशा, रणनीति तथा कार्यक्रमसमेत तय गरिने जनाइएको छ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले महाधिवेशनले देशभर छरिएर रहेका प्रि–स्कुल तथा प्रारम्भिक बालशिक्षा संस्थाहरूलाई एउटै साझा मञ्चमा जोड्दै गुणस्तरीय शिक्षाको अभियानलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशनलाई ओरियन इन्टरएक्टिभ स्मार्ट बोर्डएनर्जी मोटर्स प्रालि ले सहयोग गरेका छन् भने मात्रा एजुकेशन आधिकारिक मिडिया पार्टनरका रूपमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply