राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन नेपाल प्रहरीको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०८३, बिहीबार ०५:४७

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लब की महत्वपूर्ण खेलाडी प्रहरी जवान पुनम चन्द लाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरी ले निर्देशन दिएको छ। लामो समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते जारी गरेको सूचनामा पुनम चन्दसहित गैरहाजिर रहेका अन्य प्रहरी कर्मचारीहरूलाई समेत सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनिएको छ। तोकिएको अवधिभित्र सन्तोषजनक कारणसहित उपस्थित नभए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

प्रहरीका अनुसार पुनम चन्द २०८२ चैत १५ गतेदेखि विनाअनुमति गैरहाजिर रहँदै आएकी छन्। प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसार खोजतलास, सूचना टाँस तथा सम्पर्क प्रयास गर्दा समेत उनी सम्पर्कमा नआएको जनाइएको छ।

घर ठेगानामा सूचना टाँस गर्दा र विभिन्न माध्यमबाट खोजी गर्दा पनि सम्पर्क स्थापित हुन नसकेपछि प्रहरीले सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना जारी गरी अन्तिम सात दिने म्याद दिएको हो।

यसअघि नेपाल भलिबल संघ ले काभा महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण घोषणा गर्दा पुनम टोलीमा समावेश थिइन्। तर प्रशिक्षणकै क्रममा उनले खेल र जागिर दुवै छोडेर अष्ट्रेलिया गएको बताइएको छ।

हाल नेपाली महिला टोली घरेलु कोर्टमा काभा महिला भलिबल च्याम्पियनसिप खेलिरहेको छ। राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी टिममा नहुँदा खेल प्रदर्शनमा असर परेको चर्चा भइरहेको छ भने नियमविपरीत विदेशिएका कारण उनको प्रहरी सेवाको भविष्यसमेत अन्योलमा परेको छ।

प्रतिक्रिया

Leave a Reply