काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यस वर्षको गणतन्त्र दिवस समारोहमा पनि देशवासीका नाममा सम्बोधन नगर्ने भएका छन्। आगामी जेठ १५ गते आयोजना हुने विशेष समारोहमा आफ्नो तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल ले सम्बोधन गरिदिउन् भन्ने चाहना राख्दै प्रधानमन्त्री शाहले शीतल निवासमा औपचारिक पत्राचार गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको छ। प्रधानमन्त्री कार्यालयले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै पत्र पठाएको जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले समेत उक्त विषयमा राष्ट्रपतिसमक्ष पत्र पठाइसकिएको पुष्टि गरेकी छन्।
विगतका वर्षहरूमा गणतन्त्र दिवसका अवसरमा सरकार प्रमुखका हैसियतले प्रधानमन्त्रीले नै विशेष सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटक प्रधानमन्त्री बालेनले उक्त मञ्चमा आफू नबोली राष्ट्रपतिलाई अघि सारेका हुन्।
प्रधानमन्त्री शाहले राजकीय तथा संसदीय मामिलामा मौनता अपनाएको यो पहिलो घटना भने होइन। यसअघि सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि उनले प्रत्यक्ष सम्बोधन नगरी राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव टेबुल गर्न लगाएका थिए।
नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री रोष्ट्रममा उपस्थित नभएपछि विपक्षी गठबन्धनले संसद् बैठक अवरुद्ध गरेको थियो। प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले सांसदहरूको प्रश्नको सामना गरेका थिए।
संसदीय नियमअनुसार प्रधानमन्त्रीले प्रत्येक महिना सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्री बालेन हालसम्म संसद्मा प्रत्यक्ष रूपमा उपस्थित भएका छैनन्। सभामुख डोलप्रसाद अर्याल ले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन आग्रह गरे पनि उनले ‘उपयुक्त समयमा उपस्थित हुने’ जवाफ दिएका थिए।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेयता बालेनले हालसम्म एकपटक पनि देशवासीका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। संसद् र सार्वजनिक मञ्चहरूमा विभिन्न दलका शीर्ष नेताहरू सक्रिय रूपमा बोलिरहँदा प्रधानमन्त्री भने औपचारिक रूपमा मौन देखिएका छन्।
प्रतिक्रिया