रास्वपा पञ्चकन्या गाउँपालिकाको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न, रामचन्द्र कार्की सभापतिमा निर्वाचित
rastriyakhabar
११ जेष्ठ २०८३, सोमबार ०५:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पञ्चकन्या गाउँपालिकाको प्रथम अधिवेशन सूचना, सञ्चार तथा प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनबाट रामचन्द्र कार्कीको नेतृत्वमा नयाँ गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिको सभापतिमा रामचन्द्र कार्की, उपसभापतिमा उत्तम पण्डित, सचिवमा मुरारी खनाल तथा सहसचिवमा अभिषेक खड्का निर्वाचित हुनुभएको छ।
त्यसैगरी, सदस्य पदमा निर्वाचित सम्पूर्ण प्रतिनिधिहरूले समेत पदभार ग्रहण गरेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री डा. विक्रम तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति स्थापनाको अभियानलाई सशक्त रूपमा अघि बढाइरहेको बताउनुभयो। उहाँले स्थानीय तहबाटै परिवर्तनको आधार तयार हुने भएकाले नयाँ नेतृत्वले जनताको विश्वास जितेर काम गर्नुपर्ने धारणा राख्नुभयो।
अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता, स्थानीय प्रतिनिधि, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहभागीहरूले पञ्चकन्या गाउँपालिकामा रास्वपालाई थप सशक्त र जनमुखी संगठनका रूपमा स्थापित गर्न नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया