काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कामाथि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान तीव्र पारिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा राजस्व अनुसन्धान विभागले संयुक्त रूपमा उनको सम्पत्ति स्रोतबारे विस्तृत छानबिन गरिरहेका छन्।
स्रोतका अनुसार खड्कासँग चलनचल्तीको मूल्यअनुसार एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति फेला परेको छ। तर उक्त सम्पत्तिको ठूलो हिस्सा कसरी आर्जन गरिएको हो भन्ने स्पष्ट स्रोत खुलाउन नसकेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। अख्तियारले हाल सम्पत्ति विवरण विश्लेषण गर्नुका साथै बयान लिने कार्यलाई समेत तीव्र बनाएको जनाएको छ।
आयोग स्रोतका अनुसार जेठ महिनाभित्रै गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गर्ने तयारीसहित अनुसन्धान अघि बढाइएको छ। भ्रष्टाचार निवारण ऐनअन्तर्गत अनुसन्धान गर्दा प्रभावकारी हुने निष्कर्षसहित अख्तियारले सक्रियता बढाएको हो।
जेन–जी आन्दोलनका क्रममा खड्काको बुढानीलकण्ठस्थित निवासबाट ठूलो परिमाणमा नगद रकम भेटिएको विवरण सार्वजनिक भएपछि उनी सरकारी निकायहरूको निगरानीमा आएका थिए। त्यसपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गत १५ चैतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो।
तर पक्राउ प्रक्रिया कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ३ वैशाखमा उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो। त्यसयता उनी रिहा अवस्थामा छन्।
संखुवासभा स्थायी घर भएका खड्का व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका नेता मानिन्छन्। जलविद्युत्, होटल तथा अन्य व्यापारिक क्षेत्रमा उनको लगानी रहेको बताइन्छ। लाजिम्पाटस्थित नेपाल स्काउटको जग्गा लिज प्रकरणमा समेत उनको नाम जोडिएको थियो।
अनुसन्धान स्रोतका अनुसार उनले कर तिरेर देखाएको आम्दानीभन्दा धेरै परिमाणमा स्रोत नखुलेको सम्पत्ति फेला परेको छ। आयोगले उनका आफन्त तथा निकट सहयोगीहरूको नाममा राखिएको सम्पत्तिमाथि समेत निगरानी बढाएको जनाएको छ।
यस्तै, एक जापानी नागरिकको ठूलो रकम शक्तिको आडमा हत्याएको आरोपसमेत अनुसन्धानको दायरामा आएको स्रोतको दाबी छ। ती जापानी नागरिकले विभिन्न निकायमा उजुरी दिएको भए पनि अहिलेसम्म प्रभावकारी अनुसन्धान नभएको विवरण खुलेको बताइएको छ।
यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सात महिनाअघि अनुसन्धान सुरु गरेको बताइएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र हाल विदेशमा रहेको स्रोतको दाबी छ। नेपाल प्रहरीले उनीहरूलाई नेपाल ल्याउने प्रयास गरिरहेको जनाइएको छ।
प्रतिक्रिया