काठमाडौँ। गगनकुमार थापा ले नेकपा (एमाले) सँगको वर्तमान सत्ता साझेदारी तत्काल अन्त्य नहुने स्पष्ट पारेका छन्। सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सुदूरपश्चिम पुगेका थापाले एमाले अध्यक्ष केपी शर्मा ओली सँगको भेटपछि धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा सत्ता समीकरण सुरक्षित रहेको बताएका हुन्।
प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले अहिले सरकार परिवर्तनबारे कुनै ठोस निर्णय नभएको उल्लेख गरे। उनले केन्द्रस्तरमा हुने राजनीतिक सहमति सबै तहमा लागू हुने बताएका छन्।
उनले भने, “अहिले नै सरकार परिवर्तनबारे कुनै निर्णय भएको छैन। भविष्यमा एमालेसँग सबै प्रदेशका विषयमा सामूहिक छलफल हुन सक्छ। केन्द्रले गर्ने समग्र निर्णयलाई सबैले पालना गर्नुपर्छ।”
यसैबीच कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सह–महामन्त्री उदयशमशेर राणा ले मंगलबार एमाले अध्यक्ष ओलीसँग भक्तपुरको गुण्डुमा भेटवार्ता गरेका थिए। उक्त भेटमा प्रदेश सरकारहरूको नेतृत्व आलोपालो गर्ने र केही प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने विषयमा छलफल भएको जनाइएको छ।
उपसभापति शर्माले प्रदेश सरकारको नेतृत्व परिवर्तन सम्बन्धी विषयमा एमालेसँग थप संवाद जारी रहने बताएका छन्।
एमाले अध्यक्ष ओलीसँग पछिल्लो समय कांग्रेस र नेकपाका नेताहरूले समानान्तर रूपमा राजनीतिक संवाद तीव्र बनाएका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ले कम्युनिष्ट शक्तिहरू एकजुट नभए भविष्य संकटमा पर्ने भन्दै ओलीसमक्ष एकता र सहकार्यको प्रस्ताव अघि सारेका छन्।
उच्च राजनीतिक स्रोतका अनुसार कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेश सरकार गठन गर्ने विषयमा समेत सकारात्मक छलफल भइरहेको बताइएको छ।
यसैक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए। करिब आधा घण्टा चलेको भेटमा सुदूरपश्चिमको राजधानी कार्यान्वयन तथा आगामी राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
भेटका क्रममा ओलीले कांग्रेस सभापति थापा काठमाडौं फर्किएपछि थप राजनीतिक संवाद हुने संकेत दिएका थिए। उनले “तीन दल मिलेरै सरकार अघि बढाउनुपर्ने अवस्था पनि आउन सक्छ” भन्ने धारणा राखेको स्रोतले जनाएको छ।
हालको अंकगणित अनुसार सातमध्ये चार प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ। कांग्रेस–एमाले सहकार्य निरन्तर रहेमा बागमती, गण्डकी र सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार बन्न सक्ने सम्भावना देखिएको छ भने कांग्रेसले कोशी र कर्णाली प्रदेशमा दाबी कायम राखेको छ।
यद्यपि एमाले र नेकपा मात्र मिल्दा पनि चार प्रदेशमा कम्युनिष्ट सरकार बन्न सक्ने अवस्था रहेको राजनीतिक विश्लेषण गरिएको छ। तर मधेश, बागमती र लुम्बिनी प्रदेशमा भने तीन दलबीच सहमति बिना सरकार गठन कठिन हुने देखिएको छ।
राजनीतिक वृत्तमा अब कांग्रेस सभापति थापा काठमाडौं फर्किएलगत्तै सत्ता समीकरणबारे अन्तिम ‘प्याकेज’ टुंगो लाग्न सक्ने चर्चा तीव्र बनेको छ।
प्रतिक्रिया