काठमाडौँ। हर्क साम्पाङ ले वर्तमान सरकार संसद्प्रति कत्ति पनि उत्तरदायी नभएको भन्दै प्रतिनिधिसभा बैठकमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। तल्लो सदनको बैठकमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसद्मा अनिवार्य उपस्थित गराउन सभामुखसँग कडा रुलिङको माग गरेका हुन्।
साम्पाङले जनताका जल्दाबल्दा समस्या उठाउँदा सम्बन्धित मन्त्रीहरू नै सदनमा अनुपस्थित हुने गरेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए। उनले आफूहरूले उठाउने विषय व्यक्तिगत स्वार्थका नभई जनताको सरोकारसँग जोडिएका मुद्दा भएको स्पष्ट पारे।
बैठकमा बोल्दै उनले भने, “हामीले पटक–पटक आवाज उठाइरहेका छौँ। हाम्रा प्रश्न व्यक्तिगत स्वार्थका होइनन्, जनताका प्रतिनिधि भएर सम्बन्धित मन्त्रीहरूलाई सोध्न खोजिएका हुन्। देशको सिमाना रक्षाको सवालदेखि लिएर बजारको अनियन्त्रित महँगी, सहकारी पीडितलाई बुझाइँदै गरेको रकमको स्रोत के हो भन्ने जस्ता गम्भीर विषयमा हामीले जवाफ खोजिरहेका छौँ।”
उनले भूमिहीन सुकुमबासीहरूको व्यवस्थापन र उनीहरूका समस्या समाधानका विषयमा पनि सरकारलाई स्पष्ट धारणा दिनुपर्ने आवश्यकता औँल्याए।
साम्पाङले संसद्मा मन्त्रीहरूको निरन्तर अनुपस्थितिले संसदीय मर्यादा र नियमावलीमाथि नै प्रश्न उठेको बताए। उनले संसद् नियमावलीको व्यवस्था उल्लङ्घन भइरहेको दाबी गर्दै सभामुखको ध्यानाकर्षण गराए।
उनले भने, “सम्बन्धित मन्त्रालयका नेतृत्वकर्ताहरू सदनमा झुल्किँदैनन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जस्तो महत्त्वपूर्ण समयमा समेत उनीहरूको उपस्थिति हुँदैन। यस्तो प्रवृत्तिले नियमावलीको उपनियम १५(२) को पूर्ण उल्लङ्घन भएको देखिन्छ। सरकार संसद् र जनताप्रति जवाफदेही बन्नैपर्छ।”
साम्पाङले मन्त्रीहरू आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै यस्तो प्रवृत्तिको घोर भर्त्सना गरे। साथै उनले संसद्लाई प्रभावकारी र उत्तरदायी बनाउन सभामुखले आवश्यक निर्देशन दिनुपर्ने मागसमेत गरे।
प्रतिक्रिया