‘विद्याजी फर्किन मिल्दैन’ भन्ने ओलीकै यू–टर्न : संकट टार्न एमालेमा नयाँ कार्ड ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०८३, मंगलवार ०५:१२

काठमाडौं । केपी शर्मा ओली ले एक समय “पूर्वराष्ट्रपति राजनीतिमा फर्किन मिल्दैन” भन्दै कडा अडान लिएका थिए । तर अहिले तिनै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को पार्टी सदस्यता नवीकरणको प्रस्ताव अघि सारेपछि नेकपा (एमाले) भित्र नयाँ राजनीतिक बहस सुरु भएको छ ।

गत १२ साउन २०८२ मा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँगको बैठकमा ओलीले भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बनाउनुको कारण नै “उहाँ राजनीतिमा फर्किन नपरोस्” भन्ने रहेको बताएका थिए । उनले त्यतिबेला पूर्वराष्ट्रपति गणतन्त्रको प्रतीक र संविधानको संरक्षक भएकाले सक्रिय राजनीतिमा फर्कनु उचित नहुने तर्क अघि सारेका थिए ।

ओलीले त्यतिबेला भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयको बचाउ गर्दै विभिन्न बैठकहरूमा त्यसका राजनीतिक र संवैधानिक कारणहरू प्रस्तुत गरेका थिए । तर सोमबार बसेको पदाधिकारी बैठकमा भने उनले अचानक भण्डारीबाट आएको सदस्यता नवीकरण सम्बन्धी निवेदन प्रस्तुत गर्दै “अब सदस्यता दिऔँ” भन्ने प्रस्ताव अघि सारे ।

उनले बैठकमा “संविधानले रोक्दैन, तत्कालीन राजनीतिक परिस्थितिका कारण निर्णय गरिएको थियो” भन्दै प्रक्रिया पूरा भएकाले सदस्यता नवीकरण गर्न सकिने धारणा राखेका थिए ।

एमालेभित्र शक्ति संघर्ष चर्किँदै

एमाले पदाधिकारीहरूका अनुसार ओलीको पछिल्लो कदम भण्डारीप्रतिको सदाशयता भन्दा पनि पार्टीभित्र बढ्दो शक्ति संघर्षसँग जोडिएको छ । एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीले आफूविरुद्ध बलियो मोर्चाबन्दी हुन थालेपछि भण्डारीलाई नयाँ राजनीतिक ‘कार्ड’ का रूपमा प्रयोग गर्न खोजेका हुन् ।

पार्टीका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पछिल्लो समय ओलीको नेतृत्वप्रति असन्तुष्ट बन्दै गएको एमालेभित्र चर्चा छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोर्नुपरेको पराजयपछि बहुमत पदाधिकारीहरूले नैतिक जिम्मेवारी लिएर अध्यक्ष पद छाड्न ओलीलाई आग्रह गरेका थिए ।

तर ओलीले त्यसलाई अस्वीकार गरेपछि असन्तुष्ट पक्ष नेतृत्व परिवर्तनको निष्कर्षमा पुगेको स्रोतहरूको दाबी छ । महासचिव पोखरेलले बालकोट र गुण्डु पुगेर ओलीलाई घुमाउरो रूपमा नेतृत्व हस्तान्तरणको संकेत गरेका थिए भने उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठनको एजेन्डा अघि सारेका थिए ।

भण्डारीसँगको गोप्य संवाद

पित्तथैलीको शल्यक्रियापछि भक्तपुरको गुण्डुस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेका ओलीलाई भेट्न गत वैशाख २७ गते पूर्वराष्ट्रपति भण्डारी पुगेकी थिइन् । दुई नेताबीच झण्डै दुई घण्टा लामो ‘वान टु वान’ छलफल भएको एमाले स्रोतको दाबी छ ।

स्रोतका अनुसार पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीमार्फत ओलीकै पहलमा भण्डारीलाई भेटका लागि निम्तो पठाइएको थियो । त्यसयता एमालेका औपचारिक कार्यक्रममा भण्डारीको सक्रिय उपस्थिति बढ्न थालेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार “एक पक्षलाई दबाबमा राख्न अर्को पक्षलाई साथमा लिने” रणनीति ओलीको पुरानै शैली हो । एमालेकै एक उपाध्यक्षका अनुसार, “यो विद्या भण्डारीको सुविधा वा सम्मानका लागि भन्दा पनि आफ्नो संकट टार्न चालिएको रणनीतिक कदम हो ।”

विश्लेषकहरूले ओलीले दलभित्र मात्रै होइन, राष्ट्रिय राजनीति र भू–राजनीतिक सन्तुलनमा पनि यस्तै शैली अपनाउँदै आएको टिप्पणी गरेका छन् । कुनै एक शक्ति केन्द्रबाट दबाब बढेको महसुस हुनासाथ अर्को शक्ति केन्द्रसँग निकटता बढाएर सन्तुलन कायम गर्ने ओलीको शैली अहिले फेरि एमालेभित्र देखिएको चर्चा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply