काठमाडौं । बुढानीलकण्ठ को सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोस्रो बुढानीलकण्ठ भिडियो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिताले बुढानीलकण्ठ क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा र पर्यटकीय सम्भावनालाई भिडियोमार्फत विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गरेको आयोजकले बताएका छन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
प्रतियोगितामा रन्जित श्रेष्ठ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । यस्तै गोपाल बि.के. द्वितीय भए भने अम्रित श्रेष्ठ र प्रतिक छेत्री संयुक्त रूपमा तृतीय स्थानमा रहे ।
विजेतालाई रु १ लाख, द्वितीय हुनेलाई रु ७५ हजार तथा तृतीय हुने दुवै प्रतियोगीलाई रु ५०–५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै पाली स्व रेष्टुरेन्ट तर्फबाट आकर्षक गिफ्ट भौचर समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थिति रहेको थियो ।
उपप्रमुख अनिता लामाले सम्पूर्ण प्रतियोगीलाई बधाई दिँदै यस्ता प्रतियोगिताले बुढानीलकण्ठ क्षेत्रको पहिचानलाई अझ फराकिलो बनाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले भिडियो प्रतियोगिताले बुढानीलकण्ठको सांस्कृतिक विरासत, ऐतिहासिक महत्त्व तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रभात कुमार रिमाल उपाध्याय, धिरज जंग शाह, चोपेन्द्र सागर पराजुली तथा सत्यराज जोशी रहेका थिए । निर्णायकहरूले भिडियो सामग्रीलाई रचनात्मकता, प्रस्तुतिकरण र सन्देशको प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेका थिए ।
आयोजकहरूले भविष्यमा यस्ता प्रतियोगिताले बुढानीलकण्ठलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न तथा विदेशी पर्यटकलाई नेपालको यस अमूल्य सम्पदाप्रति आकर्षित गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया