काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएका छन् ।
सङ्घीय संसद् सचिवालय का प्रवक्ता एवं सहसचिव एकराम गिरी का अनुसार शनिबार साँझसम्म प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ती उजुरीहरू दर्ता भएका हुन् ।
यसअघि गत वैशाख २६ गते संसदीय सुनुवाइ समिति ले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार, तथ्य र प्रमाणसहित उजुरी दिन १० दिनको समयसीमा तोकेर सार्वजनिक आह्वान गरेको थियो ।
समितिले उजुरीकर्ताको गोपनीयता सुरक्षित रहने उल्लेख गर्दै उजुरीमा आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरेको थियो ।
उजुरी दर्ता गर्ने समयसीमा भोलि (सोमबार) कार्यालय समयभित्रसम्म कायम रहेकाले उजुरीको सङ्ख्या अझै बढ्न सक्ने सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद् को सिफारिसमा संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, क्षमता, आचरण र पृष्ठभूमिको परीक्षण गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
प्राप्त उजुरीहरूमाथि समितिले प्रारम्भिक छलफल र छानबिन गरेपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई संसदीय सुनुवाइका लागि बोलाइनेछ । त्यसक्रममा समितिले प्रत्यक्ष प्रश्नोत्तरमार्फत उनको धारणा र स्पष्टीकरण लिने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया